विपद् प्रतिकार्यको पूर्वतयारीमा जुट्यो रेडक्रस

सुर्खेत ।  विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न नेपाल रेडक्रस सोसाइटी सुर्खेतले विपद् प्रतिकार्यको पूर्वतयारीमा जुटेको छ । रेडक्रसले सुर्खेतमा आइतवारदेखि सामान्य बदली सुरु भएपनि सोमबारदेखि मनसुन सक्रिय भएपछि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका बारेमा  छलफल शुरु गरेको हो ।

आज रेडक्रस जिल्ला कार्य समितिको बैठकबाट विपद् पूर्वतयारीको कार्ययोजना बनाएर राहत तथा उद्दारका कार्यलाई प्रभावकारी बनाउन आवश्यक छलफल तथा  शुरु भएको रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए ।

उनले मनसुन नजिकिसकेकाले तत्काल विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर सुरक्षा निकाय, साझेदार संस्था, नागरिक समाज र सञ्चार क्षेत्रले निभाउनुपर्ने भूमिकाका लागि पूर्व तयारी गर्न छलफल गर्नु परेको बताए ।

रेडक्रसले सुर्खेतका नौ वटै पालिकामा हुने सक्ने सम्भावित बाढी, पहिरो, आगलागी, सडक दुर्घटना, भूकम्प, चट्याङ, जस्ता विपदजन्य घटनाहरुको वर्गीकरण गरी उच्च जोखिम, मध्यम जोखिम क्षेत्रको निर्धारण, पहिचानसँगै आवश्यक स्रोतसाधनको उपलब्धता जस्ता विषयमा छलफल केन्द्रित गरेको रेडक्रस सुर्खेतका उपसभापति प्रदिप्त पौडेलले जनाए ।

रेडक्रसले सुर्खेतमा प्राथमिक उपचार, आपत्कालिन आवास निर्माण, शव व्यवस्थापन, रक्तसञ्चार सेवा, गैह्र खाद्य सामाग्री लगायत प्रतिकार्यका लागि १ सय ५० जना स्वयंसेवकलाई तत्काल परिचालन गर्न सक्ने क्षमता रहेको उनको भनाइ छ ।

Translate »