वीरेन्द्रनगरको वातावरणमैत्री नीति खोइ ?

तेजीले बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै अब वीरेन्द्रनगरलाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्न त्यतिकै आवश्यक भईसकेको छ । उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु बनाउन सकिएमा स्वच्छ तथा हरियालीमय व्यवस्थित शहरको परिकल्पना हाम्रै पालामा साकार गर्न सकिन्छ । तर, पछिल्लो समय जुन रफ्तारले भूमि माथिको दलालीकरणबाट अव्यवस्थित बसोबासले आउँदो पाँच\दश वर्षभित्रै वीरेन्द्रनगर कुरुप र कंक्रिटमय खतराहरु देखा पर्ने छन् । मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत बनाउने प्रयास अहिलेदेखि नै शुरु गरिनु पर्छ । सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक जगतको स्थापना गर्नु पनि हो । पानी, यातायातको समस्या, वातावरणीय र खोलानाला प्रदूषणले वीरेन्द्रनगरमा अहिलेदेखि बसोबास गर्नेहरुको जीवन आक्रान्त बन्न शुरु भईसकेको छ । अहिले वीरेन्द्रनगरमा अव्यवस्थित वस्ति विकासका कारणले तापमानमा समेत वृद्धि भएको छ । बस्तीहरुमा पानीको निकास नहुँदा बाढीको समस्या, प्रदूषणको समस्या कायमै छ । अहिले देखा परेका समस्याको समाधानका लागि यो वा त्यो पक्ष मात्र होइन, सबै पक्षले यसतर्फ काम गर्नुपर्ने आवश्यकता देखिन्छ । अव्यवस्थित सहरीकरणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परेको छ भने चोरी, भ्रष्टाचारी, नैतिकपतन, सामन्तीजस्ता समूहहरुको क्रीडास्थल पनि बन्न पुगेको छ । दुराचार, दुव्र्यसन, ठगी, बेरोजगारी, आत्महत्या, यौनशोषण, एकाङ्कीपन आदि पक्षको समेत विकास हँदै गईरहेको छ । यसको असर परिवार, समुदाय, स्तरमा समेत पर्दै गएको छ, जसले सर्वाङ्गीण विकासमा प्रत्यक्ष र अप्रत्यक्ष असर गर्छ ।

आवश्यक सेवाहरुको अपर्याप्तता र स्तरहीनता, योजनाविहीन र अव्यवस्थित घर निर्माण र बस्ती विस्तार, पर्ती जग्गा र कृषि भूमिको अनियोजित अतिक्रमण, बढ्दो वातावरणीय प्रदूषण र सवारीको चाप, सुकुमबासी बस्तीहरूको वृद्धि र सहरी व्यवस्थापनमा देखिने अकर्मण्यता र दीर्घकालीन सोचको अभाव नै अहिलेको मुख्य समस्या हो । सही र सन्तुलित तथा व्यवस्थित सहरी विकासलाई भने नकारात्मक मान्न सकिँदैन । योजनाबद्ध र व्यवस्थित सहरीकरणको प्रक्रियाबाट विकासका आयामहरु थपिन्छन् । औद्योगीकरणको प्रक्रिया अगाडि बढ्छ भने सामाजिक अन्तरक्रिया र अन्तरसम्बन्धको दायरा पनि व्यापक बन्दै जान्छ । जसका लागि सहरीकरण गर्नुअगाडि पर्याप्त पूर्वाधारको विकास र सहर बनेपछि आउने समस्याको समुचित व्यवस्थापन गर्न सके सहरीकरणले फाइदा पु¥याउँछ । सहरीकरण भन्नाले सहरी क्षेत्रको भौतिक, सामाजिक तथा आर्थिक विस्तारलाई जनाउँछ, चाहे त्यो क्षेत्रफल, जनसंख्या र पूर्वाधारको विकास किन नहोस् । एकातिर सहरीकरण समस्या हो भने अर्कातिर गरिबी हटाउने अवसर हो । व्यवस्थित सहरीकरण नै विकासको मार्ग हो । विगतका केही वर्ष नियाल्ने हो भने वीरेन्द्रनगरको जनसंख्यामा तीव्र वृद्धि भएको पाइन्छ । सहर भन्नेबित्तिकै सबैको अनुमानमा सुविधासम्पन्न संसार रहेको हुन्छ । सरकारी तथ्याङ्कअनुसार शिक्षा, रोजगारी, सुविधा र सरल जीवनको खोजीमा गाउँबाट सहर भित्रने गरेका छन् ।

उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु नहुँदा सहरी भेगमा वातावरणीय असर र अव्यवस्थित बसोबास फैलन थालेको हो । सहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ । सरकारी कार्यालय एवं बजार, वाणिज्यका प्रमुख केन्द्रहरूको रुपमा विकसित भएकाले यो क्षेत्र सबैको आकर्षणको क्षेत्र बनेको हो । पछिल्लो समय विकास पनि सहर केन्द्रित बन्दै गएको छ । मानवीय ज्ञान, बुद्घि र विवेकबाट पूर्ण बनाइए पनि मानवमा सोचाइ, सामूहिक प्रगति र उन्नतिको बाटोलाई समात्न नसक्दा प्रकृति हेपिँदै र खिइँदै गएको आभास हुन्छ । त्यसैले वीरेन्द्रनगरलाई (हरियाली) वातावरणमैत्री शहर बनाउने प्रयासहरु अहिलेदेखि नै योजनाबद्ध ढंगले कामको थालनी गर्नु पर्छ । वीरेन्द्रनगरलाई स्मार्ट सिटी, ग्रीन सिटी, क्लीन सिटी बनाउने तर्फ वर्तमान नेतृत्वले गरेका प्रयासहरु सकारात्क देखिएपनि पर्याप्त छैनन् । साझा उद्देश्य बोकेका दिर्घकालिन लाभ वातावरणमैत्री शहर बनाउने योजनाको प्रतिफल ढिलोगरी आउने भएकाले धैर्यता पनि राख्न सक्नु पर्छ । यसतर्फ हामीले बेलैमा नसोच्ने हो भने भावी पुस्ताले यो पुस्तासँग गुनासो गर्ने प्रसस्त ठाउँहरु हुनेछन् । जनतामा निजी आलीशान भवन भन्दा पनि सामूहिक आवासमा जोड दिने नीति अवलम्वन गर्न जरुरी देखिन्छ ।

 

Translate »