स्वास्थ्यमा फड्को मार्दै कर्णाली


पछिल्लो समय कर्णालीमा तुलनात्मकरुपले स्वास्थ्य पूर्वाधारको क्षेत्रमा फड्कको मारेको छ । कोरोना महामारीपछि त झनै स्तरोन्नती गर्नुपर्ने बाध्यताले स्वास्थ्य क्षेत्रले फड्को मारेको हो । भनिन्छ नी ! समय आएपछि हरेकको जवानी आउँछ । हो, अहिले कर्णाली थुप्रै स्वास्थ्य संस्थाहरुको स्तरोन्नती भएको छ । सुर्खेत स्थित प्रदेश अस्पताललाई सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शैयासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएसँगै अन्य अतिरिक्त पूर्वाधारहरुको समेत विकास हुन थालेको छ । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको कामहरुले पनि गति लिएका छन् । यसबाट कर्णालीका नागरिकलाई वषौं देखि सामान्य स्वास्थ्य उपचारका लागि अन्तर प्रदेश तथा विदेश जानुपर्ने बाध्यता अब केही हदसम्म कम हुनेछ । सुर्खेत र जुम्लामा विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक संरचना विस्तार, आधुनिक र प्रविधिमैत्री चिकित्सा उपकरणसहितको स्वास्थ्य सेवा पाउँदा ठूलो राहत पुगेको छ । प्रदेश अस्पताललाई पाँच सय शैयाको बनाउने गरी भवनको तला थप गर्नका लागि आवश्यक प्रक्रिया शुरु भईसकेको छ । अस्पतालको तला थप गर्न प्रदेश सरकारले करीब डेढ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ । आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाईएको छ । यो एउटा खुशीको कुरा हो । कर्णाली स्वास्थ्य विज्ञान जुम्लासँगै प्रदेशका अन्य जिल्ला अस्पतालहरुको समेत स्तरोन्नती गरिन लागेको छन् ।
यसबाट आम नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ । स्वास्थ्य सेवाको भौतिक पूर्वाधार विकाससँगै अब दक्ष जनशक्ति व्यवस्थापनमा समेत सरकारहरुले ध्यान पु¥याउन आवश्यक भईसक्यो । किनभने ! मानवसंसाधनको विकासले नै भौतिक संसाधनको विकास हुने हो । भौतिक पूर्वाधार विकास सँगसँगै अस्पतालको स्वास्थ्य सेवामा पनि सुधार र विस्तार कार्यलाई अब प्रदेशका दश जिल्लामा गरिनु पर्छ । पछिल्लो समय पुरानो चिकित्सा पद्धती आयुर्वेदले समेत कर्णालीमा ढिलाई भएपनि फड्को मार्दै छ । प्रदेश आयुवर्दे औषधालय बाट चिकित्सालय बनाउने क्रम अब सुर्खेतबाट जुम्लासम्म पुगेको छ । प्रदेश र संघ सरकारले कर्णालीको स्वास्थ्य सेवाको विस्तासँगै गुणस्तरमा समेत ध्यान पु¥याउन आवश्यक छ । अस्पताल आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्नेगरी सुविधा विस्तार गर्नु पर्छ । हालै मात्र प्रदेश अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ । यो खुशीको कुरा हो । कर्णाली जस्ता दुरदराजका क्षेत्रमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन । मिर्गौला प्रत्यारोपण गर्नुपरेमा काठमाडौं नै जानुपर्ने बाध्यता रहेकोमा अब भने यस्तोे जटिल उपचार सेवा कर्णालीमै पाइने भएपछि बिरामीलाई निकै सहजता पुग्नेछ । प्रदेश अस्पताल सुर्खेतले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ । अक्सिजन प्लान्टको व्यवस्थाका साथै पाइप लाइन जडान तथा सञ्चालन पनि हुँदै आएको छ ।

अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम जडान गर्न लागेको छ । यस वर्ष अस्पतालले ‘ख’ वर्गको एम्बुुलेन्स सञ्चालन र अस्पतालका कर्मचारीको ५० प्रतिशत स्वास्थ्य बीमा शुरु गरेको छ । त्यसैगरी अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न पनि पहल भइरहेको छ । यसका लागि ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ ऐनको मस्यौदा तयार पारी सरोकारवालासँग छलफल गराइएको छ । सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ । कर्णाली प्रदेशसँगै लुम्बिनी र सुदूरपश्चिमसहित भारतबाट समेत उपचारका लागि बिरामी आउने गरेकाले अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । यसबाट के बुझ्न सकिन्छ भने कर्णालीले स्वास्थ्य सेवामा फड्को मार्दैछ । यद्यपि ! अहिले उपलब्ध धेरैजसो सेवा कर्णालीका शहरमा मात्र केन्द्रित छन्, अब शहरदेखि गाउँ–गाउँ, बस्ती–बस्तीसम्म पु¥याउन आवश्यक देखिन्छ । अहिले पनि कर्णालीको ठूलो जनसंख्या र क्षेत्रफल ग्रामीण क्षेत्र नै हो । कर्णाली असली आत्मा अहिले पनि गाउँमै बस्छ । गाउँका जनतालाई भोट बैंक मात्र बनाउने होइन, अब सेवा सुविधाहरु गाउँका बस्ती–बस्तीसम्म पु¥याउन तर्फ नेताहरुको ध्यान पुग्नु पर्छ ।

