मुगुमा पाँच दिनदेखि बिद्युत् सेवा अवरुद्ध

असार ३०, मुगु । मुगुको सदरमुकाम गमगढी बजारलगायत आसपासका गाउँहरू बिगत पाँच दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

लगातारको बर्षाले गर्दा गमगाड खोलामा आएको बाढीले पावर हाउसको इन्टेकबाट नहर तिर करिब एक सय मिटरको भागमा माटो र बालुवा पुरिएपछि नहरमा पानी बग्न नपाई बिद्युत् उत्पादन बन्द हुँदा स्थानीय बासिन्दाहरू अन्धकारमा बस्न बाध्य भएका हुन् ।’बिद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयबासीहरु मङ्गलवारदेखि अन्धकारमा बस्न बाध्य भएका हुन । बिद्युत् सेवा अवरुद्ध हुँदा टेलिफोन सेवामा समेत बाधा पुगेको छ ।

तत्कालको लागि अवरुद्ध बिद्युत् सुचारु गर्नको लागि पावर हाउसको इन्टेकदेखि नहरभित्र धेरै मानिसहरू पस्न नमिल्ने भएकाले केही समय काम सम्पन्न गर्न ढिलाइ भएको र हाल नहर खुलाउने काम तदारुकताका साथ भइरहेकोले जतिसक्दो छिटो बिद्युत् सुचारु गर्न आफु लागि परेको गागाड बिधुत वितरण केन्द्रका प्रमुख साजन ऐडिले जानकारी दिए । बिद्युत् सेवा अवरुद्ध भएपछि मुगु जिल्लाका दैनिक जनताका सरकारी स्तरबाट सम्पादन हुने काममा खासै समस्या नभए पनि बजारमा सेवा लिँदा महँगोको मारमा सर्वसाधारण जनता पर्ने गरेको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र ओखेडाले बताए ।

चार्ज गर्ने ठाउँ नभएपछि अधिकांश सर्वसाधारणका मोबाइलहरू स्विच अफ भएका छन् भने आफन्तहरूमा सूचना आदान प्रदानमा समेत समस्या उत्पन्न भएको छ । बिद्युत् सेवा अवरुद्ध भएपछि मुगुमा कार्यरत दर्जनौँ सञ्चारकर्मीलाई समेत समाचार सम्प्रेषणमा बाधा पुगेको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको बताए ।

मुगु जिल्लाका करिब आठदेखि १० हजार घरधुरीलाई लक्षित गरी २०५२ सालमा गमगाड साना जलविद्युत आयोजना स्थापना गरिएको भएपनि २०६८ सालमा आयोजनाको निर्माण कार्य सम्पन्न गरिएको थियो ।

बिद्य्त आयोजना स्थापनाको करिब १८ वर्षमा आयोजना सम्पन्न भई मुगुको सदरमुकाम गमगढीलगायत हालको छायाँनाथरारा नगरपालिका भित्रका ८७ वटा बस्ती मध्ये अधिकांश बस्तीहरूमा बिद्युत् सेवा बिस्तार भइसकेको छ । रेडियो नेपाल

Translate »