कर्णालीका ‘हिरासतमा पुस्तकालय’ अभियानका लागि पत्रकार पूनम विसीले २९ थान उपन्यास उपलब्ध गराए

सुर्खेत । सुर्खेतका पूनम विसी पत्रकार मात्र होइनन् । उनी समाज रुपान्तरणका लागि परिवर्तनकारी सम्वाहक पनि हुन् । युवाहरुको जमातमा कर्मका माध्यमबाट फरक मूल्य मान्यता स्थापित गर्दै आईरहेका पूनम विसीले समाजको वास्तविक चरित्रलाई बाहिर ल्याउन एउटा उपन्यास समेत लेखन गरेका छन् ।

कर्णाली प्रदेशका १४ वटा ‘हिरासतमा पुस्तकालय’ स्थापनार्थ का लागि कर्णाली प्रदेश प्रहरीद्वारा सञ्चालन गरिएको अभियानका लागि उनले २९ थान ‘रमा’ उपन्यास उपलब्ध गराएका हुन् । कर्णाली प्रदेश प्रहरी प्रमुख भिमप्रसाद ढकाललाई ‘हिरासतमा किताब’ अभियानका लागि शुक्रबार ती पुस्तक उपलब्ध गराउँदा उनले खुशी व्यक्त गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले अहिले प्रदेशभरी हिरासतमा पुस्तकालय स्थापना अभियान चलाएको छ । प्रदेशका १० वटा जिल्ला प्रहरी कार्यालय र बाँकी ४ वटा मुद्दा चल्ने इलाका कार्यालयका हिरासत कक्षमा पुस्तकालय स्थापनाका लागि निर्देशन दिइसकेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयमा पुस्तकालय स्थापना भइसकेकाले अबको १५ दिनभित्र प्रदेशका सबै हिरासतमा पुस्तकालय स्थापना गरिसक्ने लक्ष्य राखिएको छ । हिरासतमा रहेका व्यक्तिहरुको मनोविज्ञानमा परिवर्तन आउनुका साथै नयाँ ज्ञान, विवेक र खोजका लागि पुस्तक अध्ययन महत्वपूर्ण हुने प्रहरीको विश्वास रहेको छ ।

यसअघि प्रदेशका १० वटै जिल्लाका कारागारहरुमा रहेका कैदी बन्दीहरुका लागि ‘कारागारमा किताब’ अभियान सञ्चालन गरिएको थियो ।

 

Translate »