२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 24, 2026

साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड



सुर्खेत । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालनमा ल्याईएको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ ।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ  लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको हो । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका ती पसलमा बाहिर तोकिएभन्दा सस्तो र गुणस्तरीय सामान पाइने साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतका प्रमुख नवराज अकौलियाले बताए ।

विशेषगरी ती पसलमा दिउँसोदेखि उपभोग्य सामग्री किन्न उपभोक्ताको भीड लाग्ने गरेको छ । वीरेन्द्रनगरको गोदाम हल लाईनमा सञ्चालित सुपथ मूल्य पसलमा दैनिक ५ लाख रुपैयाँसम्मको नून, चिनी र तेल विक्री भईरहेको आकौलियाले जानकारी दिए ।

आयो नून रु. २४ रुपैयाँ प्रति किलो, चिनी रु. १०० प्रतिकिलो, सनफ्लावर तेल रु. २९५ प्रति लिटर, तोरी तेल रु. २७० प्रति लिटर र सोयाविन तेल रु. २७५ प्रति लिटरमा विक्री वितरण भईरहेको छ । साल्ट ट्रेडिङमा चिनी किन्नका लागि उपभोक्ता बढी आउने गरेका छन् ।

‘कोरोना महामारीपछिका वर्षहरुमा उद्घाटनको भोलि पल्ट उपभोक्ताको खासै चहलपहल हुँदैन थियो । तर यो वर्ष भने देखि बढी नै भिड बढेको छ । सामानहरु उल्लेख्य रुपमा विक्री भएको छ,’ अकौलियाले भने ।

उनले सरकारको निर्देशनमै सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएकाले सुपथ मूल्य पसलको अर्को उद्देश्य मूल्य नियन्त्रण गर्नु समेत रहेको बताए । कसैले पनि सुपथ मूल्यको पसलबाट बिक्री हुने नुन, चिनी र तेलको कालोबजारी गरेको पाईए कडा कारबाही गरिने उनको भनाइ छ ।

सुपथ मूल्य पसल छठ पर्वसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार
Translate »