

सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पतालले प्रहरीसँगै थुनुवा–बन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
अस्पतालले सञ्चालन गरेको ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रमअन्तर्गत सुर्खेतका विभिन्न प्रहरी युनिटमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । नेपाल प्रहरी विशेष सुरक्षा गण बेश क्याम्प गुमीमा कार्यरत १ सय २६ जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार ईलाका प्रहरी कार्यालय छिन्चु तथा मातहतमा कार्यरत ६६ जना प्रहरी कर्मचारी र त्यहाँ रहेका ७ जना थुनुवा–बन्दीको पनि स्वास्थ्य जाँच गरिएको हो । अस्पतालले प्रहरी कर्मचारीलाई कार्यस्थलमै स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउने उद्देश्यले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।


प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमै रहँदा स्वास्थ्य समस्या देखिए तत्काल परामर्श तथा उपचारको पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अस्पतालका प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. अमितकुमार ठाकुरले बताए । उनले प्रहरी कर्मचारी तथा थुनुवा–बन्दीको स्वास्थ्य अवस्थाबारे आवश्यक जानकारी संकलन गर्दै स्वास्थ्य सचेतना बढाउनु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाए ।
उनका अनुसार स्वास्थ्य परीक्षणका क्रममा स्वस्थ जीवनशैलीसम्बन्धी सचेतनामूलक गतिविधि अन्तर्गत स्वस्थ जीवनयापन, प्राथमिक उपचार तथा मादक पदार्थ र सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने असरबारे परामर्श दिईएको थियो । सामान्य ल्याब परीक्षणसँगै प्रहरी कर्मचारीहरुको बीएमआई बडी मास इन्डेक्स जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
डा. ठाकुर, डा.सञ्जीव खड्कालगायत आठ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण कार्यमा खटिएको अस्पतालले जनाएको छ ।












