

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ड खनालले गरिबलाई हरहालतमा धनी बनाउन आग्रह गरेका छन् ।
शनिबार धनञ्जय बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभालाई सम्बोधन उपप्रमुख खनाले गरिबलाई हाम्रै पालामा धनी बनाउन नेपाल सरकारसँग जोडदार माग गरेका हुन् ।
सहकारीले आर्थिक पहुँचबाट बाहिर रहेका समुदायलाई आर्थिक पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सदस्यहरुको आवश्यकता र मागमा आधारित कार्यक्रम सञ्चालन गर्दै साना तथा स्वरोजगारमुखी व्यवसायलाई अघि बढाउन सहकारीले प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।
समाजका सबै मान्छे धनी भएपछि कसैलेपनि बाध्य भएर चोरी, डकैती र बेइमानी गर्नु नपर्ने भएकाले गरिबलाई अनिवार्य धनी बनाउन सबैजनाको सहयोग आवश्क रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सहकारी संघ सुर्खेतका अध्यक्ष प्रकाश तिमिल्सिनाले सहकारीप्रतिको विश्वास कायम राख्न सञ्चालक समिति र सदस्य दुवैको समान भूमिका रहने बताउँदै दिगोपन र प्रभावकारिताका लागि पारदर्शिता, उत्तरदायित्व र सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको औल्याए ।
भलाराम पंगालीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष दयाराम पङ्गालीले आर्थिक वर्ष २०८२र०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्था, गतिविधि, आगामी कार्ययोजना तथा सदस्यकेन्द्रित कार्यक्रमका विषयमा जानकारी दिए ।
यसैवीच सभाले अध्यक्ष देबेन्द्र रिजाल, उपाध्यक्ष डिला धमला, सचिब यामप्रसाद शर्मा, कोषाध्यक्ष नवराज ढुंगाना तथा सदस्यहरु चन्द्रा भण्डारी, देवीकुमारी आचार्य, भुपेन्द्र पंगेनी ,टक रिजाल, ऋषिप्रसाद रिजाल, निता रिजाल र यामलाल पंगालीलाई सर्वसम्र्मत निर्वाचित गरेको हो ।
सभाले लेखा सुपरीवेक्षण समिति सयोजकमा दयाराम पंगाली तथा सदस्यहरुमा भवानीप्रसाद पौडेल र यामुना चालिसेलाई निर्विरोध चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिले सहकारीको संस्थागत सुशासन, सदस्यको आर्थिक हित र स्थानीयस्तरमा उत्पादन तथा स्वरोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।
सहकारीले आगामी दिनमा सदस्यको माग र आवश्यकतामा आधारित सेवा विस्तार गर्दै बचत तथा ऋणसँगै उद्यमशीलता, साना व्यवसाय र आर्थिक आत्मनिर्भरताका कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य लिएको बताईएको छ ।











