

गुटु । सुर्खेतमा फरुवा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
आज विहान पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरुवाले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।
घटनालगत्तै चौकुने गाउँपालिका–५ का वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले स्थानीय प्रहरीलाई खबर गरेका थिए । नजिकैको प्रहरी चौकी विजौराबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

घटना स्थल पुगेको प्रहरी टोलीले श्रीमतीको टाउकोमा फरुवा प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रका श्रीमान गोपीरामलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा ७ जनाको प्राविधिक टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरीले उनलाई हिरासतमा लिई घटनामा प्रयोग भएको फरुवासमेत बरामद गरेको जनाएको छ । मृतकको शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अगाडि बढाइएको छ ।
हत्याको मुख्य कारण भने अहिलेसम्म खुल्न सकेको छैन र ज्यानसम्बन्धी कसुरमा कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहोराले जानकारी दिए ।











