२०८३ असोज ३ , शनिबार
Sky News Nepal
September 19, 2026

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त



काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ यसअघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । मन्त्रिपरिषद्को निर्णयसँगै उनले कार्यकारी निर्देशकको जिम्मेवारी पाउने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रबन्ध निर्देशकका रूपमा श्रेष्ठले १३ मे २०२६ देखि जिम्मेवारी सम्हाल्दै आएका छन् । सन् १९९७ नोभेम्बरदेखि प्राधिकरणमा आबद्ध श्रेष्ठसँग विद्युत् उत्पादन, प्रसारण, वितरण तथा प्रणाली सञ्चालनमा २८ वर्षभन्दा बढीको अनुभव छ ।

श्रेष्ठले भारतको अलीगढ मुस्लिम विश्वविद्यालयबाट सन् १९९६ मा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसबाट सन् २००५ मा सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

प्राधिकरणमा इन्जिनियरका रूपमा करियर सुरु गरेका श्रेष्ठले लोड डिस्प्याच सेन्टर, विभिन्न वितरण केन्द्र, हेटौंडा ग्रिड डिभिजन, कालीगण्डकी जलविद्युत् केन्द्र तथा विभिन्न क्षेत्रीय कार्यालयको नेतृत्व गरेका छन् । उनी ग्रिड सञ्चालन विभागका निर्देशक, प्रसारण निर्देशनालय र वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकसमेत भइसकेका छन् ।

श्रेष्ठसँग ऊर्जा क्षेत्रको नेतृत्व र व्यवस्थापनमा लामो अनुभव छ । उनले विद्युत् उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित ठूला पूर्वाधार आयोजनाको योजना बनाउनेदेखि कार्यान्वयन र अनुगमनसम्मको काम गरेका छन् । साथै, ऊर्जा नीति, योजना निर्माण र संस्थागत व्यवस्थापनमा पनि उनको अनुभव छ । आर्थिक अभियान

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार
Translate »