२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

बाँकेमा बाँदरको टोकाइबाट ४० जना घाइते



बाँके । नेपालगञ्जमा बाँदरको आक्रमणमा परी ४० जना घाइते भएका छन् ।

बाँदरलाई लखेट्ने क्रममा आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका छन् । पछिल्लो डेढ महिनामा मात्रै बाँदरको आक्रमणमा परी घाइते भएका ४० सर्वसाधारण नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएको भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीको बारेमा अध्ययन गरिरहेका डा. बद्री चापागाईंले जानकारी दिए ।

उनले नेपालगञ्जमा बाँदरको टोकाइबाट घाइते भई अस्पताल आउने बिरामीको घटना नयाँ भएको बताए । ‘कुकुर, बिरालो, सर्पको टोकाइबाट घाइते भई अस्पताल आउने क्रम पुरानै हो,’ डा. चापागाईंले भने, ‘तर, अहिले बाँदरले समेत घरघरमै पसेर मान्छेलाई टोकेको केश अचम्म लाग्दो छ ।’

उनले सहरमा बाँदरको बिगबिगी रहेकाले सुरक्षित रहन र आक्रमण भइहाले तुरुन्तै उपचारको लागि अस्पताल पुग्न सुझाव दिए । भेरी अस्पतालमा पछिल्लो पटक सर्प तथा जनावर जन्य टोकाइका घटना बढ्दै गएका छन् । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नवीन दर्नालले गाउँमा किसानलाई बाँदरले टोकेको घटना हुने गरे पनि बजारमा नयाँ केश भएको बताए ।

उनले बाँदरको टोकाइबाट घाइते बिरामीलाई जङ्गली जनावर मानेर रेविज विरुद्धको खोप दिनुका साथै आवश्यकताअनुसार बिरामीलाई सहजरुपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको जानकारी दिए । रासस

 

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमबार
Translate »