

सुर्खेत । लगातारको वर्षाका कारण हुन सक्ने बाढी तथा पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै केही मुख्य सडक तथा राजमार्गमा यातायात आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा रुकुम पश्चिमका जोखिमयुक्त मुख्य सडकहरु बन्द गरिएका छन् । मौसमविद्हरुले भारी वर्षाको प्रक्षेपण गरेसँगै सम्भावित दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक यात्रा नगर्न कर्णाली प्रदेश सरकारले आग्रह गरेको छ ।
कर्णाली सरकारले बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्नका लागि प्रदेशका १० वटै जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । खासगरी खोला, नदी किनारासँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्भावित दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक यात्रा नगर्न र जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारी साधन नचलाउन सुझाव दिईएको छ ।

साथै, कुनै पनि आपत्कालीन अवस्था वा उद्दारका लागि विपद् हटलाइन १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, रत्नराजमार्ग र मदनभण्डारी राजमार्ग लगायत प्रदेशका प्रमुख सडक तथा स्थानीय सडकमा आवश्यक निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
विशेषगरी पहिरोको जोखिम रहेका सडकखण्ड, खोलामा पानीको बहाव बढ्नसक्ने स्थान तथा विगतमा बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा निगरानी बढाउन भनिएको छ ।
वर्षाका कारण सडक अवरुद्ध भएमा तत्काल सडक खुलाउने, यात्रुको उद्दार गर्ने र आवश्यक सामग्री तथा जनशक्ति परिचालनका लागि पूर्व तयारी अवस्थामा रहन निर्देश गरिएको छ ।











