

सुर्खेत । आज विश्व फार्मासिस्ट दिवस विविध कार्यक्रम गरी मनाईएको छ ।
दिवसको अवसर पारेर नेपाल फार्मेसी संघ कर्णालीले मानव सेवा आश्रम सुर्खेतका आश्रितहरुलाई निःशुल्क औषधि तथा औषधिजन्य सामग्रीहरु वितरण गरेको हो ।
‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔं’ भन्ने नाराका साथ मनाईएको दिवसको अवसरमा फार्मासिस्टको योगदानलाई थप प्रभावकारी बनाउँदै औषधि तथा स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिईएको छ ।

नेपाल फार्मेसी संघका केन्द्रिय सचिव सुन्दर आचार्यले फार्मेसी पेशाको मर्यादा, व्यवसायिकता र समग्र विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले सुरक्षित, प्रभावकारी र गुणस्तरीय औषधिको पहुँच सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्वपूर्ण रहेको जनाए ।
फार्मासिस्टको ज्ञान, सीप, व्यावसायिक आचरण र सेवामुखी दक्षता निरन्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै उनले नियामक निकाय, स्वास्थ्य सेवा प्रदायक र सरोकारवालाबीचको सहकार्य अझै सुदृढ बनाउँदै स्वस्थ तथा समृद्ध समाज निर्माणमा हातेमालो गर्न आव्हान गरे ।
कार्यक्रममा नेपाल फार्मेसी संघ कर्णाली प्रदेशका अध्यक्ष शशी थापा, कोषाध्यक्ष बसन्ती थापा, सदस्य सर्मिला गिरी, पवन पाण्डेलगायतको सहभागिता रहेको थियो ।











