

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दो छ ।
सरकारी स्वामित्वको कम्पनीले दैनिक उपभोग्य वस्तुमा दिइएको मूल्य छुटका कारण यस्ता पसलमा उपभोक्ताको आकर्षण बढेको हो । कम्पनीले कर्णाली प्रदेशका नौ जिल्लाका ८१ वटा स्थानमा गत साउन २८ गते देखिनै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
चाडपर्वका बेला उपभोग्य वस्तुको मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको हो । सुपथ मूल्य पसलबाट उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो र प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट पाएका छन् ।

सुर्खेत स्थित कम्पनीको प्रादेशिक कार्यालयले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा उपभोक्ताका लागि चार प्रकारका चामलसँगै चिनी, खानेतेल, दाल र कर्णालीको सिमी उपलब्ध गराईएको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख केशबराज बुढाका अनुसार सुपथमूल्य पसलमा स्थानीय उपभोक्ताको दिनहुँ उत्साहजनक सहभागिताले मागमा आधारित वस्तुहरु उपलब्ध गराईएको छ ।
उनले प्रदेशको सल्यान बाहेक सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएको बताए । उनका अनुसार सल्यानमा कम्पनीको कार्यालय नभएपनि छिमेकी जिल्ला दाङबाट त्यहाँ सेवा प्रवाह भईरहेको छ ।


‘बजारको तुलनामा खाद्य व्यापार कम्पनीको सुपथ मूल्य पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य कम रहेकाले उपभोक्ताको आकर्षण बढेको छ,’ उनले भने, ‘तर, साल्ट टेडिङ कर्पोरेशनले प्रति किलो एक सय रुपैयाँमा चिनी विक्री गरिरहेकाले खाद्य व्यापार कम्पनीबाट पनि एक सय रुपैयाँ मै विक्री वितरण गर्नका लागि केन्द्रमा पत्र पठाईसकेका छौं । अब छिट्टै मूल्य मूल्य समायोजन हुन्छ ।’
कम्पनीले कर्णालीमा १ करोड ४० लाख ५३ हजार रुपैयाँको दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्य लिएको छ । अर्थात चाडपर्व लक्षित २८ हजार क्वीन्टल मूल्य छुटको खाद्यान्न विक्री गर्ने कम्पनीको लक्ष्य छ ।
कम्पनीले अनलाइनबाट पनि खाद्य वस्तुको अर्डर लिने र घरघरमै निःशुल्करुपमा खाद्यवस्तु पु¥याउने व्यवस्था मिलाएको छ । सुपथ मूल्य पसलमा दाल, चामल, तेल, नुन, गेडागुडीलगायत खाद्य वस्तु उपलब्ध छन् ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ल्याएको दशैं, तिहार र छठ पर्व सुपथ मूल्य पसलमा उपभोक्ताको बाक्लो भीड देख्न सकिन्छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन ल्याईएका त्यस्ता ती पसलमा बजारमा तोकिएभन्दा सस्तो र गुणस्तरीय सामान पाइने भएपछि उपभोक्ता भिड लागेको साल्ट ट्रेडिङ कर्पोरेशन सुर्खेतका प्रमुख नवराज अकौलियाले बताए ।
वीरेन्द्रनगरको गोदाम हललाईनमा सञ्चालित सुपथ मूल्य पसलमा दैनिक ५ लाख रुपैयाँसम्मको नून, चिनी र तेल विक्री भईरहेको आकौलियाले जानकारी दिए । आयो नून रु. २४ रुपैयाँ प्रति किलो, चिनी रु. १०० प्रतिकिलो, सनफ्लावर तेल रु. २९५ प्रति लिटर, तोरी तेल रु. २७० प्रति लिटर र सोयाविन तेल रु. २७५ प्रति लिटरमा विक्री वितरण भईरहेको छ ।
उनले सरकारको निर्देशनमै सुपथ मूल्य पसल सञ्चालनमा ल्याईएकाले नुन, चिनी र तेलको कालोबजारी गरेको पाईए कडा कारबाही गरिने उनको भनाइ छ । सुपथ मूल्य पसल छठपर्वसम्म सञ्चालन हुनेछ ।












