२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

अविरल वर्षाका कारण कर्णालीको जनजीवन प्रभावित, अधिकांस सडक अवरुद्ध, डोल्पामा एक जनाको मृत्यु



सुर्खेत । दुई दिनदेखिको अविरल वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ ।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार अविरल वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाहरुमा मुख्य राजमार्ग, सहायक मार्गसँगै ग्रामीण सडकमा पहिरो, गेग्रान र बाढी आउँदा यातायात आवागमन प्रभावित भएको हो ।

अविरल वर्षापछि कर्णाली राजमार्गअन्तर्गत जुम्ला र कालिकोटका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित राँका र कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

तातोपानीको राँकामा ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्णरुपमा बन्द भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । अविरल वर्षाका कारण कर्णालीका विभिन्न जिल्लाका सडकमा यातायात प्रभावित भएको छ । शनिबार बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।

दैलेख–कालिकोट सडकखण्डअन्तर्गत गगने खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ । मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको बताईएको छ । पहिरो खस्ने क्रम अझै नरोकिएकाले सडक तत्काल खुलाउनसमेत कठिनाइ भएको छ ।

सडक अवरुद्ध भएसँगै जुँनिचाँदे, कुशेसहित छेडागाड नगरपालिकाका केही वडामा सञ्चालन हुने यातायातका साधन पूर्ण रुपमा ठप्प भएका छन् । छेडागाड नगरपालिकाका वरिष्ठ इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार लगातार पानी परिरहेका कारण सडक माथिबाट पहिरो खस्ने क्रम जारी छ ।

उता हुम्लाको हिल्सा क्षेत्रमा सडकमा हिउँ जमेर आवागमन प्रभावित भएपछि सडक खुलाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी शंकर खड्काका अनुसार ९ गतेदेखि हिल्सा, लिमी, लाप्चा, नारा लेक, न्यालु लेक, यारीलगायत उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

हिल्सामा खटिएको प्रहरी टोलीले सडकमा जमेको हिउँ पन्छाउँदै आवागमन सहज बनाउने प्रयास गरिरहेको उनले जानकारी दिए । यसैवीच अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् ।

त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडा गाउँको रावलवाडा भन्ने स्थानमा त्रिपालको गोठमा सुतिरहेका अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर करिब ३३ वर्षीय मनरुप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (प्रहरी निरीक्षक) पदम रावलले जानकारी दिए ।

राति करिब ९ः४५ बजे ढुङ्गा लागेर घाइते भएका उनलाई लिखु स्वास्थ्य चौकीमा उपचार गर्न लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सोही स्थानमा ढुङ्गा लागेर ३८ वर्षीय चन्द्ररुप केसी सामान्य घाइते भएका छन् ।

 

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार
Translate »