

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानून बमोजिम कारबाही गर्न निर्देशन दिएको छ ।
शिक्षक राजनीतिक गतिविधिमा संलग्न भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षक तथा कर्मचारीका राजनीतिक गतिविधिमाथि निगरानी गर्न र संलग्न भएको पाइएमा कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका छन् ।
यसैबीच, शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भए/नभएको निगरानी गर्न निर्देशन दिएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही शिक्षक विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाउँदै एकाइले त्यस्ता गतिविधिमाथि निगरानी बढाउन आग्रह गरेको हो ।

शिक्षा ऐन तथा नियमावलीमा तोकिएको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशन विपरीत गतिविधि गरेको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही गर्न एकाइले आग्रह गरेको छ ।
त्यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीन पाटन गाउँपालिकालाई पत्राचार गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रुपमा सहभागी भएको पाइएमा आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।
एकाइ प्रमुख दिनेशप्रसाद देवकोटाद्वारा जारी पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको उल्लेख छ । पत्रमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ ।
शिक्षा नियमावली, २०५९ (दशौं संशोधनसहित) मा उल्लिखित व्यवस्था विपरीत गतिविधि गरेको पाइएमा सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरी त्यसको जानकारी अविलम्ब एकाइलाई गराउन स्थानीय तहलाई अनुरोध गरिएको छ । रासस











