

सुर्खेत । लगातारको वर्षापछि कर्णाली प्रदेशको मौसममा क्रमिक रुपमा सुधार आउन थालेको छ ।
तीन दिनदेखिको लगातारको झरी र बादलपछि कर्णालीको आकाश बिस्तारै आज विहानदेखि खुल्दै गएको हो । मौसम सफा हुन थालेसँगै जनजीवन सामान्य बन्दै गएको छ । अहिले हवाई तथा सडक यातायातमा परेको अवरोध पनि हट्दै गईरहेको छ ।
नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार अविरल वर्षाका कारण प्रदेशका ७ जिल्लाका मुख्य राजमार्ग र भित्रि सडकमा पहिरो गएपछि यातायात आवागमन पूर्णरुपमा प्रभावित भएको छ ।
कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१, खच्चामा पहिरोले सडक पूर्णरुपमा बन्द भएको छ । त्यस्तै नाग्मा–जुम्ला सडकखण्ड अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–१, राकामा र गमगढी–नाग्मा सडकखण्ड अन्तर्गत मुगुको रारा छाँयानाथ नगरपालिका–६ र ७, पिनादेखि ताल्चासम्म पहिरोले सडक अवरुद्ध भएको हो ।


ट्राफिक प्रहरीका अनुसार कर्णाली राजमार्गत अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–४, त्रितेडाडामा पहिरोले सडक अवरुद्ध भएको छ । यस्तै भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, अन्बेदुल्लामा पहिरोले सडक अबरुद्ध भएको छ ।
उता जाजरकोटको छेडागाड नगरपालिका–४, लेवाभिरमा पर्ने भित्रि सडक अवरुद्ध भएको छ भने राप्ति राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ र ४ अरिङ्गालेमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती अवरुद्ध सडकहरुमा खसेको पहिरो हटाउने र अन्य मर्मत कार्य शुरु भईसकेको छ । यद्यपि ! नजिकको प्रहरी कार्यालयमा सडकको अवस्थाको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सुझाव दिएको छ ।
यता प्रदेशका विभिन्न जिल्लाहरुमा अबरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले समेत जनाएको छ ।












