२०८३ असोज २४ , शनिबार
Sky News Nepal
October 10, 2026

लगातारको वर्षापछि खुल्दै कर्णालीको आकाश, सात जिल्लामा सडक अवरुद्ध



सुर्खेत । लगातारको वर्षापछि कर्णाली प्रदेशको मौसममा क्रमिक रुपमा सुधार आउन थालेको छ ।

तीन दिनदेखिको लगातारको झरी र बादलपछि कर्णालीको आकाश बिस्तारै आज विहानदेखि खुल्दै गएको हो । मौसम सफा हुन थालेसँगै जनजीवन सामान्य बन्दै गएको छ । अहिले हवाई तथा सडक यातायातमा परेको अवरोध पनि हट्दै गईरहेको छ ।

बिहीबार शुक्रबार र शनिबारअधिकांश स्थानमा भएको भारी वर्षाले कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकासहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित भएको थियो । निरन्तरको वर्षाका कारण सडक आवतजावत, दैनिक कामकाज तथा व्यापार–व्यवसायमा समेत असर परेको थियो ।

आइतबार बिहानदेखि वर्षा रोकिएर घाम लाग्न थालेपछि सर्वसाधारणले केही सहजता महसुस गरेका छन् । यद्यपि, मौसम पूर्णरुपमा स्थिर भइसकेको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा अझै छिटपुट वर्षाको सम्भावना रहेको छ । पछिल्लो दुई दिनको वर्षाका कारण जमिन गलिसकेकाले नदी तथा खोलानालाको बहावमा परिवर्तन आउन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी नदी तटीय क्षेत्र तथा पहिरोको उच्च जोखिम भएका स्थानमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

पहिरोले ७ जिल्लामा आवागमन बन्द

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार अविरल वर्षाका कारण प्रदेशका ७ जिल्लाका मुख्य राजमार्ग र भित्रि सडकमा पहिरो गएपछि यातायात आवागमन पूर्णरुपमा प्रभावित भएको छ ।

कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१, खच्चामा पहिरोले सडक पूर्णरुपमा बन्द भएको छ । त्यस्तै नाग्मा–जुम्ला सडकखण्ड अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–१, राकामा र गमगढी–नाग्मा सडकखण्ड अन्तर्गत मुगुको रारा छाँयानाथ नगरपालिका–६ र ७, पिनादेखि ताल्चासम्म पहिरोले सडक अवरुद्ध भएको हो ।

ट्राफिक प्रहरीका अनुसार कर्णाली राजमार्गत अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–४, त्रितेडाडामा पहिरोले सडक अवरुद्ध भएको छ । यस्तै भेरी करिडोर अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, अन्बेदुल्लामा पहिरोले सडक अबरुद्ध भएको छ ।

उता जाजरकोटको छेडागाड नगरपालिका–४, लेवाभिरमा पर्ने भित्रि सडक अवरुद्ध भएको छ भने राप्ति राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ र ४ अरिङ्गालेमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती अवरुद्ध सडकहरुमा खसेको पहिरो हटाउने र अन्य मर्मत कार्य शुरु भईसकेको छ । यद्यपि ! नजिकको प्रहरी कार्यालयमा सडकको अवस्थाको जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले सुझाव दिएको छ ।

यता प्रदेशका विभिन्न जिल्लाहरुमा अबरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले समेत जनाएको छ ।

पहिरो हटाउने काम जारी

शुक्रबारदेखिको लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक भासिँदा अवरुद्ध कर्णाली राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम सुरु भएको छ।

राजमार्गका विभिन्न खण्डमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङगामाटो थुप्रिँदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि कर्णाली राजमार्ग जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी यातायात बन्द भएको जानकारी दिएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार
Translate »