२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

प्रधानमन्त्री शाह स्वदेश फिर्ता



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी भएर अमेरिकाबाट स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री शाह यही असोज ६ गते महासभामा सहभागी हुनका लागि अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । उनले नेपाली समयअनुसार शुक्रवार विहान महासभालाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै गत भदौ १० गते नेपालमा आएको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई स्थानीय त्रासदीमात्र नभएर विश्व समुदायका लागि एउटा चेतावनीसमेत भएको सन्देश विश्वलाई दिए ।

राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट आएको जलवायु संकटको चेतावनीलाई विश्वले अब सुन्ने मात्र नभई त्यसअनुसार तत्काल काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री शाहले ४ साताअघि नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’ भनिएको उल्लेख गर्दै भोटेकोशी–त्रिशूली विपद् नेपालमा मात्र सीमित त्रासदी नभई विश्वका लागि समेत चेतावनी भएको बताए ।

जलवायु संकटबारे वैज्ञानिकहरुले लामो समयदेखि दिँदै आएको चेतावनीलाई विश्वका राजनीतिक नेतृत्वले आवश्यक गति र स्तरमा कार्यान्वयनमा रूपान्तरण गर्न नसकेको भनाई प्रधानमन्त्री शाहले महासभामा राखेका थिए ।

तापक्रम वृद्धि हुँदा हिमालयको संवेदनशील पारिस्थितिक प्रणाली अस्थिर बन्दै गएको, पर्माफ्रोस्ट पग्लिँदा हिमाली ढलान कमजोर भएको तथा हिमपहिरो, बाढी, पहिरो र अन्य जोखिम बढिरहेको उनले जनाए ।

‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै उनले हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपद्पछि नेपाललाई सहयोग गर्ने भारत, चीन, संयुक्त राष्ट्रसंघीय प्रणाली, मानवीय सहायता निकाय, परोपकारी संस्था तथा विश्वभरका नागरिकप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्तावसमेत गरे । हिन्दुकुश हिमालय क्षेत्र करीब २ अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै उनले हिमालयलाई पृथ्वीको जीवन प्रणालीको महत्त्वपूर्ण हिस्सा भएकाले यस क्षेत्रमा यस्तो मेकानिज्म स्थापना गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिबार
Translate »