कर्णालीका सडक सास्तीप्रति बोलेको खोइ ?

प्राकृतिक तथा सांस्कृतिकरुपले समृद्ध कर्णाली भौतिक पूर्वाधार अभावले पछाडी परेको छ । देशका अन्य प्रदेशको तुलनामा छुट्टै वैभवशाली ईतिहास बोकेको कर्णालीको कथा संघीयतामा आईपुग्दा समेत कोल्टे फेर्न सकेको छैन् । अशिक्षा, गरिवी र भोकमरीको साम्ना गर्दै आईरहेको कर्णालीमा मुलतः भ्रष्ट र अवसरवादी राजनीतिको दलदल भन्दा माथि उठ्न नसक्दा थुप्रै समस्याका अम्बार रहेका छन् । अहिलेपनि ५१ प्रतिशत भन्दा बढी गरिवीको रेखामुनी बाँचिरहेका कर्णालीका नागरिकलाई आर्थिक दलदलबाट बाहिर निकाल्ने सरकारसँग कुनै ठोस योजना छैन् । कर्णालीको गरिवीलाई भजाएर मूल्यहिन राजनीति गर्नेहरु सत्तामा पुग्दा समेत आफ्नो समृद्धि गरेपनि आम नागरिकले दिनहँ साम्ना गर्नुपरिरहेको समस्याप्रति कुनै चाँसो र चिन्ता छैन् । प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाकै पश्चिम क्षेत्रका थुप्रै गाउँहरुमा विगत एक महिनादेखि सवारी आवागमन बन्द हुँदा समेत कुनैपनि पार्टीको नेता ‘चु’ समेत बोल्न सकेका छैनन् ।

सरकारले यातायात क्षेत्रको सिंडिकेट हटाएको दावी गरेपनि विभिन्न आवरणमा सुर्खेतमा भने सिंडिकेट कायमै छ । निजी क्षेत्रका यातायात कम्पनीहरुको मनपरीले पश्चिम सुर्खेतका नागरिकले वर्षौंदेखि मानसिक तथा आर्थिक सास्ती भोग्दै आईरहेका छन् । पश्चिम सुर्खेतका जनताको राजनीति प्रतिनिधित्व बोकेका नेकपा माओवादी केन्द्रका तर्फबाट कर्णाली प्रदेश सभामा विन्दमान विष्ट र प्रतिनिधि सभामा नेपाली काँग्रेसका तर्फबाट हृदयराम थानीले सडक सास्तीका कारणले पश्चिम सुर्खेतका नागरिकले दिनहुँ भोगिरहेका समस्याप्रति बेखर हुनु आफैमा लज्जास्पद हो । त्यहीं माथि वर्षातमा सडक खराब भएको बाहना बनाउँदै यातायात व्यवसायीको सिण्डीकेटले वर्षातमा झन दुःखमाथि दुःख भोगिरहेका पश्चिम सुर्खेतका नागरिकको पीडमा मलहम लगाउने नेता भेटिएको छैन् । प्रदेश राजधानी बाहिरको हालत त झन खराब छ । सुर्खेतबाट नेपाली सेनाले जुम्लासम्म खोस्रेको धर्साे नै मोटरबाटो मानिएको छ । शून्य किलोमिटर सुर्खेतको बाङ्गेसिमलबाट जुम्लासम्मको २ सय ३२ किलोमिटर छिचोल्न एक दिनले पुग्दैन । सुर्खेतबाट कालीकोटसम्मको १ सय ५५ किलोमिटर पार गर्न तीन दिनै लाग्छ । घुम्ती धेरै छन् । अक्करे भिर छिचोल्दै खोस्रिएका सडक ट्¥याक साँघुरा छन् । वर्षात लाग्यो कि गाडी गुड्नै सक्दैनन् । हिलोमा फस्छन् । सामान्य बलले गाडी हिलोबाट निकाल्न मुस्किल पर्छ । डोजरै लगाउनुपर्छ ।
मोटरगाडीको मुख देख्नु भन्नुमात्रै भएको हुँदा अझै पनि कर्णालीमा मोटर सरर गुड्ने कुरा सपना झै बनेको छ । देशमा रेलगाडीको कुरा उठ्दा कर्णालीका लागि भने अझै मोटर सपना हुनु दुर्भाग्य हो । कर्णालीभर सडक भनेर बनेको धर्सेबाटो ३ हजार ४ सय ३८ किलोमिटर हो । त्यसमध्ये कालोपत्रे चाहिँ ९० किमिमात्र छ । सडक गतिलो नहुँदा मोटर सरर गुडेनन् भन्ने पनि कर्णाली राजमार्ग मृत्युमार्ग बनिरहेको तथ्य चाहिँ झन् डरलाग्दो र चिन्ताजनक छ । कर्णाली राजमार्गमा पहिरो नजाने ठाउँ नै छैन भने पनि हुन्छ । २०७० देखि कर्णालीमा १ हजार ८ सय २१ सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा ९ सय ९१ जनाले ज्यान गुमाएका छन् । त्योभन्दा बढी संख्याका व्यक्ति घाइते भएका छन् । विभिन्न पार्टीका नेताले राजनीति सत्तालाई कमाई खाने भाडा बनाउँदा आम नागरिकले अनाकमा दुःख भोग्नु परिरहेको छ । कर्णालीका नागरिकले पाईरहेको दुःखप्रति अब अगाडि आएर देशबासी समेत बोल्न आवश्यक भईसकेको छ । सडक आखिर केवल मोटर गुड्ने माध्यममात्रै होइन, देश जोड्ने साङ्लो पनि हो । सम्पूर्ण नेपालसँग कर्णालीलाई जोड्न र राष्ट्रिय एकताका लागि पनि सडक सञ्जालको स्तरोन्नतीमा तीनै तहका सरकारको ध्यान पुग्नु पर्छ । कर्णालीका समस्या समाधान गर्न धेरै ढिलाई भईसकेको छ । अब सचेत र जागरुक नागरिकले भ्रष्ट नेताहरुको भण्डाफोड गर्न पछाडी पर्नु हुँदैन् ।