रुकुम पूर्वका पाटनहरूमा यार्सागुम्बा पाइन छोड्यो

रुकुम पश्चिम । रुकुम पूर्वका पाटनहरूमा पाईने बहुमूल्य जडीबुटी यार्सागुम्बा पछिल्ला वर्षहरूमा घट्दै गएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर १, २ र ३ का बुकी पाटनमा यार्सागुम्बा पाईने गरेको छ । हरेक बर्ष वैशाखको दोस्रो हप्ताबाट असार अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन हुने गरेको छ । यस क्षेत्रका स्थानीयहरूको प्रमुख आयस्रोतको रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा बर्सेनि कम सङ्कलन हुन थालेपछि आम्दानी समेत घट्दै गएको हो ।

रुकुम पूर्व पुथाउत्तरंगा गाउँपालिका १, का वडा सदस्य विक्रम बुढा चार/पाँच पटक बहुमूल्य यार्सा सङ्कलनका लागि रन्मामैकोटको पाटन पुग्नुभएको छ । कुनै पटक केही आम्दानी त कुनै पटक यार्सा सङ्कलन हुने आम्दानी आउने जाने खर्चमा नै ठिक्क हुने गरेको उनले बताए । अघिल्लो पटक त यार्सा सङ्कलनको कामले उल्टै घाटा भएको भन्दै उनले  अब यार्सा सङ्कलनका लागि जाने काम बन्द गरेको बताए । उनी मात्र होइन यार्सा पाईने क्षेत्रकै स्थानीय शिब बुढा पनि यस पटक यार्सा सङ्कलनका लागि गएनन् । पहिले पहिले यार्सा सङ्कलनबाट राम्रो आम्दानी भएको भएपनि पछिल्ला वर्षहरूमा पाइन छोडेपछि उल्टै घाटा बेहोर्नुभन्दा स्थानीयहरू जानै छोडेका बताउँछन् । यार्सा पाइन छोडेपछि यसपटक पनि यार्सा सिजन शुरु हुँदा पनि सङ्कलनका लागि जानेहरूको उत्साह खासै देखिएको छैन । हजारौँको सङ्ख्यामा लावालस्कर हुने रन्मामैकाटको दुले क्षेत्र यसपटक खासै भरिभराउ भएन ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ का सदस्य समेत रहनुभएका विक्रम पुन यार्सा कम पाईने कुरामा धेरै कारणहरू रहेको बताए । “जलवायु परिवर्तनले कम हिउँ पर्दा उत्पादन कम मात्र होइन त्यहाँ सङ्कलनमा जाने सङ्कलकहरूले पनि यार्सा कसरी टिप्ने भन्ने बारेमा जानकारी नै नभएका कारण उत्पादन बढेको छैन”, उनले भने, “तालिम प्राप्त नभएका सङ्कलकहरूले यार्सा खोज्दा केही उमेर नपुगेका सानै यार्सा टिप्नु, त्यहाँ जाने घोडा खच्चर तथा मानिसको पैतलाका कारण कुल्चिएर समेत विगतका वर्षहरूमा उत्पादन नभएको हो की भन्ने हाम्रो अनुमान छ ।”

यार्सा कसरी कम उत्पादन भएको भन्ने विषयमा राज्यले विज्ञहरूको टोली खटाएर अनुसन्धान गर्नुपर्ने उहाँको भनाई छ ।

जति महँगो,त्यति धेरै कष्टकर

बहुमूल्य जडीबुटी जति महँगो छ, त्यो टिप्न पनि ज्यानकै बाजी थापेर जानुपर्छ । सङ्कलन स्थलमा हुने निकै चिसोदेखि लेक लागेर पनि केहीको ज्यान जाने गरेको छ । रुकुम सदरमुकाम खलङ्गाबाट रन्मामेकोटको पहिलो दुले बेसक्याम्पमा पुग्न एक दिनको गाडी र तीन दिनको पैदल यात्रा गर्नुपर्छ ।

त्यस्तै उक्त स्थलबाट यार्सा सङ्कलन गर्ने ठाउँ पाटनसम्म पुग्न अझै दुई दिनको कष्टपूर्ण पैदल यात्रा गर्नुपर्छ । रन्मामैकोटको दुले बेसक्याम्पमा सङ्कलकहरूले यार्सा टिप्न अनुमति पत्र लिएपछि दोस्रो बेसक्याम्प स्याङखोलासम्म पुग्न सकिन्छ । दुलेमा अनुमति लिई दोस्रो बेसक्याम्प स्याङखोला पुगेका यार्सा सङ्कलकलाई त्यहाँ बसेका यार्सा सिजन व्यवस्थापन समितिका युवा स्वयंसेवकले अनुमति पत्र चेकजाँच गरेर मात्रै यार्सा सङ्कलनका लागि पुपालमा जान दिने व्यवस्था मिलाइएको हुन्छ ।

यार्सा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको बुकी, पुपाल र पाटन लगायतका क्षेत्रमा पाईने गरेको छ । स्थानीय बासिन्दाहरू महिनौँका लागि बस्दोबस्ती सामान लिएर यार्सा सिजनको शुरु भए लगतै डेढ महिनाका लागि आफ्नो घरबास छाडेर पाटन जाने गर्दछन् ।
कम सङ्कलन हुन थालेपछि मूल्य बढ्यो

चार पाँच बर्षअघि डेढ क्विन्टलसम्म यार्सा सङ्कलन हुने यस क्षेत्रमा हाल २५ देखि ३० केजीसम्म मात्र सङ्कलन हुने गरेको छ ।

यार्सागुम्बा सङ्कलनमा कमी भएर सङ्ख्या घटेपछि मूल्य भने बढेको छ । अघिल्ला वर्षहरूमा एउटा यार्सागुम्बाको मूल्य गुणस्तर अनुसार ५ सयदेखि सात सय रुपैयाँसम्म पर्ने गरेकोमा यस बर्ष सात सयदेखि एक हजार रुपैयाँसम्म मूल्य परेको छ ।

यार्सा सङ्कलनमा कमी आउनुको एउटा कारणमा सिजन खुल्नु अघि नै यार्सा पाईने स्थानमा गएर गरिने यार्सा चोरी पनि हो ।

स्थानीय यार्सा सिजन व्यवस्थापन समितिले आम सर्वसाधारणहरूलाई यार्सा टिप्न अनुमति दिनुभन्दा पहिले नै सङ्कलन भइसकेका कारण पछि जाने यार्सा सङ्कलकहरू रित्तो हात फर्कनुपर्ने अवस्था छ ।

समितिले यस वर्ष यार्सा सङ्कलनको लागि प्रति व्यक्ति दुई हजार रुपियाँ र यार्सा खरिद गर्ने प्रति व्यापारीलाई १० हजार रुपियाँ शुल्क तोकिएको थियो । शुल्कबाट सङ्कलन भएको रकम यस वर्ष ८० प्रतिशत समितिले राख्यो भने २० प्रतिशत गाउँपालिकालाई राजस्व बापतको रकम आएको गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताए ।

व्यवस्थापन समितिको कोषमा राखिएको रकमले गाउँको सामाजिक तथा भौतिक विकास निर्माण एवम् विद्यालय क्षेत्रमा सहयोगका साथै यार्सा सुरक्षा तथा अन्य व्यवस्थापनमा खर्च गर्ने गरिन्छ । रेडियो नेपाल

Translate »