नेपाली नर्सलाई बेलायतका लागि आवेदन खुला
काठमाडौँ । नेपाली नर्स अब औपचारिक रूपमै बेलायतमा रोजगारीका लागि जान पाउने भएका छन् । नर्सलाई रोजगारीका लागि बेलायत पठाउन सरकारले आवेदन खुला गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको छ । गत वर्षको भदौ महिनामा नेपाल र बेलायत सरकारबीच सम्झौता भए अनुसार अहिले नेपाली नर्सलाई बेलायतका लागि आवेदन खुला गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।
नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान दुई देशबीच सम्झौता भएको झण्डै एक वर्षपछि नर्सहरू रोजगारीका लागि बेलायत जान आवेदन खुलेको हो । सम्झौता पत्रअनुसार न्यूनतम पिसिएल नर्सिङ अध्ययन पुरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिन पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
बेलायत जान इच्छुक नेपाली नर्सले जुलाई २० देखि ९० दिनसम्म अनलाइन आवेदन दिन पाउने वैदेशिक रोजगार विभागले जनाएको छ । अनलाइनमार्फत आवेदन दिएका नर्सहरूको सिस्टमबाट छनौट गरिने र सर्ट लिस्टिङ गरेपछि अन्तरवार्ता भने बेलायत सरकारकै नेश्नल हेल्थ सिस्टमले लिने र त्यसबाट छनौट भएपछि नेपाल सरकारले पठाउने पनि विभागका निर्देशक एवं सूचना अधिकारी उप्रेतीले बताए ।
द्विपक्षीय सम्झौता अनुसार रोजगारीका लागि बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, चार वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आइइएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने र दक्षताका आधारमा उनीहरूले आइइएलटीएसमा ६.५ अंक ल्याउनुपर्ने विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए।
रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।
गभर्मेन्ट टु गभर्मेन्ट प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागिएकाले यसरी जाने नर्सहरूले बेलायत सरकारले खटाएको स्थानमा काम गर्नुपर्ने हुन्छ भने उनीहरुले त्यहाँबाट दिनुपर्ने परीक्षा पास गरेपछि अन्तर्राष्ट्रिय रुपमा प्रदान गर्दै आएको सुविधा नेपाली नर्सहरूले पनि पाउने विभागका निर्देशक एवं सूचना अधिकारी उप्रेतीले जानकारी दिए ।
उनले भने ‘आवेदन खुला गरिएसँगै नेपाली नर्सहरूले अनलाइनमार्फत आवेदन दिइरहेका छन् । यसरी पहिलो चरणमा विएस्सी नर्सिङ, विएन र स्टाफ नर्सहरूलाई पठाइने र पछि पाइलट प्रोग्रामलाई पुनरावलोकन गरी अन्य स्वास्थ्य कामदारहरूलाई पनि पठाउन सकिने गरी सम्झौता भएको छ ।’
सम्झौता अनुसार रोजगारीका लागि बेलायत जाने नर्सहरू चार वर्षपछि पनि बेलायत नै बस्न चाहेमा करार अवधि सार्न मिल्ने व्यवस्था बेलायत सरकारको पक्षबाट गरेको भए पनि नेपालका तर्फबाट भने नेपाली नर्सहरू पछि नेपाल फर्किनुपर्ने व्यवस्था अनुसार कुरा गरिएको पनि विभागले जनाएको छ । रेडियो नेपाल