सहकारी ठगलाई कार्वाही गर !


धेरै दुःख गरेर एक–एक पैसा बचत गरेर सहकारीमा जमा गरेकाहरुको रकम हिनामिना गर्नेलाई कार्वाही नहुँदा बचतकर्ताको चिल्लीबिल्ली छ । सुर्खेतमा रहेका सहकारीहरु मध्ये धेरैको हालत कमजोर बन्दै गईरहेको देखिन्छ । बाँचेका सहकारीहरु समेत बचत फिर्ता गर्नै नसक्ने हालतमा छन् । यसरी सबैजसो सहकारी धराशायी हुने थाहा पाएको भए शायद बचतकर्ता रकम बचत गर्ने नै थिएनन् । सहकारीहरुको नियमन निकै फितलो र कमजोर हुँदा अहिले थुप्रै समस्याहरु देखा पर्न थालेका छन् । खासगरी सहकारीको नियमन स्थानीय तहदेखि प्रदेशले गर्ने भएकाले कानून अभावमा सहकारीका धेरै ठगहरुले उन्मुक्ति पाईरहेका छन् । शिवशिखर सहकारी संस्थाको सुर्खेतको वीरेन्द्रनगरस्थित कार्यालयले यहाँका स्थानीयबाट ३० करोड बढी रुपैयाँ ठगेपछि बचतकर्ता कहिले प्रहरी त कहिले प्रशासन गुहारेको देखिन्छ । आफ्नै रकम लिनपनि यति दुःख कष्ठ झेल्नु पर्ला भनेर उनीहरुले सोचेकै थिएनन् ।

यद्यपि सुर्खेत प्रहरीले जिल्ला अदालतमा बुझाउन तयारी गरेको प्रतिवेदनमा ११ करोड विगो मागदावी गर्दै ११ जनालाई प्रतिवादी बनाएको छ । तर, यो कहिले र कति दिन अरु बचतकर्ताले आफै बचत गरेको लिन समय कुर्नपर्ने हो, त्यो कसैलाई थाहा छैन् । नेपालको अदालती प्रक्रिया कति झन्टिलो र बोझिल लाग्दो हुन्छ की न्याय प्राप्तिका लागि कति ठोक्कर खानु पर्छ कति भन्ने कुरा धेरैलाई थाहा छ । सुर्खेतमा १ सय ७८ जना बचतकर्ताले आफूहरु शिवशिखर सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका छन भने त्यो भन्दा बढी संख्या आफ्नै भाग्यलाई दोष दिएर गल्ति महसुस गर्दै मन बुझाएका छन् । प्रहरीलाई दिएको जाहेरीमा बढी ब्याजको प्रलोभनमा परेर आफूहरुले सहकारीमा रकम जम्मा गरेको बचतकर्ताको भनाइ छ । सहकारीका ठगहरुलाई समेत कानून लाग्छ भन्ने भन्ने पाउने वित्तिकै अझै धेरै जाहेरी ठगिनेहरुले प्रहरीमा बुझाउन सकिने अनुमान लगाउन सकिन्छ । भक्तपुरमा प्रधान कार्यालय रहेको शिवशिखरले सुर्खेतको वीरेन्द्रनगर र मेहलकुनामा शाखा कार्यालय खोलेको थियो भने सँगसँगै मार्ट पनि सञ्चालन गरेको थियो । दुई शाखाबाट झण्डै ३० करोड रुपैयाँ सहकारीले शेयर र विभिन्न बचतका नाममा उठाएको अनुमान छ । प्रहरीले निवेदनका आधारमा ११ करोड रुपैयाँ विगो र कैदको मागदावी गरेर प्रतिवेदन तयार पारेपनि वास्तविक ठगहरु फरार छन् ।
निर्दोष वचतकर्तालाई छिटो न्याय दिलाउन तर्फ सरकार भने आँखामा पट्टी बाँधेर बस्यो, कानमा तेल हालेर सुतेको देखिन्छ । सामान्य घरव्यवहार चलाउन वा इलम उद्यम गर्न, शिक्षादीक्षाका लागि त सहकारीको बचत फिर्ता पाएका छैनन्, उपचार गर्ने खर्च चलाउन पनि बचत फिर्ता नपाएर मृत्युवरण गर्न बाध्य पार्ने सहकारी कति छन् कति । हाडछाला घोटेर सुकामोहर जम्मा गरेको वर्ग नै सहकारीको एक प्रमुख बचतकर्ता वर्ग हो । जीवनभरको कमाइ जति बचत गर्ने र जीवनमा केही गरौंला भन्ने वर्ग नै सहकारीको बचतकर्ता छ । त्यसैले नै हो, निरीह र निर्धो जनताको आवाज सरकारसम्म नपुगेको हो । बैंकको ब्याज एक दुई प्रतिशत तलमाथि हुँदा कोकोहोला मच्चिने समाजमा सहकारीले करोडौं, करोड डुबाउँदा पनि सरकारले नसुन्नुको अरु कुनै कारण छैन, बेला निर्धाे नागरिकमाथिको हेपाइ र अन्यायमात्रै हो । सरकारले केवल जनताका आँखामा छारो मात्र हाल्ने होइन, अब त बचतकर्ताको बचत फिर्ती प्रक्रिया सुरु गर्नुपर्छ । बचत सुरक्षाका लागि बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरिहाल्नुपर्छ । जसलाई जसरी हुन्छ, खोजी ल्याउनुपर्छ र तिनीहरुले बचतकर्ताको पैसा जहाँजहाँ लगेर लगानी गरेका हुन्, फिर्ता गरी बचतकर्तालाई फिर्ता गराउनुपर्छ । लगामबिना सहकारीलाई फेरि पञ्चखत माफी गरियो भने सय खत निम्त्याउने खतराको दैलो उघ्रिरहन्छ । त्यसैले बेलैमा तीन तहका सरकारले कडा फलामे जन्जिर नै बनाएर सहकारीलाई मुठ्ठीमा राख्नु पर्छ ।

