‘माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म आन्दोलन हुन्छ’

काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहीले सो कुरा बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले बर्खा सकिएपछि सडकमा मान्छे उतार्ने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री दाहालको आन्दोलन गर्ने दिन सकिएको बताए । उनले सके काम गर्न र नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा आफूहरूले देखाउने बताए ।  राष्ट्रियता, धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट रहेको उनको भनाइ थियो ।

उनले भने  ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छ, अब तपाइका आन्दोलन गर्ने दिन गए । जनताले प्रधानमन्त्री बनाएका हुन् । जनताको काम गरौँ । जनताको काम गर्न सक्दैनौँ भने राजीनामा दिएर थचक्क लाएर घरमा बसौँ । होइन भने ज्यादा फुरफुर नगरौँ । आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौँ । राष्ट्रवादी शक्तिले देखाउँछौ । राष्ट्रियता, धर्म निरपेक्षताको विरुद्धमा राष्ट्रियताको सवालमा हामी एकजुट छौँ । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ नगरेसम्म सडक आन्दोलन हुन्छ । त्यसको सुरुवात २७ गतेबाट सुरु हुन्छ । यो प्रधानमन्त्रीलाई खुला चुनौती हो ।’ नागरिक न्यूज

Translate »