तुम्कोटमा बेलिब्रीज निर्माण

हुम्ला । नाम्खा गाउँपालिका–५ को तुम्कोटमा कर्णाली नदीमाथि बेलिब्रीज निर्माण भएको छ । कर्णाली नदीमाथि बेलिब्रीज निर्माणसँगै सात घण्टा लाग्ने बाटोमा अब एक घण्टा १५ मिनेटमा छोटिएको छ । यसअघि गाउँपालिका केन्द्र याल्वाङबाट मुचु गाउँ हुँदै तुम्कोट पुग्न सात घण्टा पैदल हिँड्नु पर्थ्यो ।

तुम्कोट गाउँका स्थानीय नुर्बु लामाले बेलिब्रीज निर्माणका साथै सञ्चालनमा आउँदा यातायातका साधनका साथै पैदल यात्रुहरूलाई सहज भएको बताए । उनका अनुसार पुल नहुँदा गाउँपालिका केन्द्र याल्वाङबाट तुम्कोट पुग्न सात घण्टा लाग्ने गरेको भएपनि अहिले पैदल यात्रुहरूलाई दुई घण्टा लाग्छ ।

बेलिब्रीज निर्माणले गर्दा ताक्लाकोटबाट व्यापार गरेर पैदल मार्गबाट भारी बोकेर आउने भरियालाई पनि सहज भएको छ । पुल निर्माणसँगै यसअघि याल्वाङबाट कर्णाली नदीको छेउछेउबाट हिँडेर मुचु गाउँ हुँदै तुम्कोट पुग्ने पैदलका लागि निर्माण गरिएको घोडेटो बाटो बन्द भएको छ । (गोरखापत्र अनलाइन)

Translate »