बजार अनुगमनलाई तीव्रता दिँदै वीनपा


सुर्खेत । उपभोक्ताले बजारमा सधैं ठगिएको गुनासो गरेपनि बजार अनुगमनको जिम्मेवारी पाएका निकाय सुनेको नसुनै गर्छन् । जब ठूला चाडपर्व आउँछन्, नियमनकारी निकाय तातेजस्तो गर्छन् । यसपटक पनि दसैंतिहारजस्ता चाडपर्व आउन थालेपछि बजार अनुगमन सुरु भएको छ । तर, उपभोक्ताले महसुस गर्ने गरी बजारको अवस्थामा भने सुधार देखिएको छैन ।
चाडपर्व लक्षित गरी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विभिन्न निकायसँग मिलेर बजार अनुगमनलाई तीव्रता दिएको हो । वीरेन्द्रनगरका उपमेयर निलकण्ठ खनाल नेतृत्वको संयुक्त अनुगमन टोलीले शुक्रबार हटियालाईन क्षेत्रका २० वटा दैनिक उपभोग्य खाद्यान्न, माछा पसलसँगै घण्टाघर लाईनका अव्यवस्थित आधा दर्जन चाट पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा कुनै–न–कुनै कैफियत नभएका पसलहरु भेट्टाउनै मुश्किल हुन्छ ।
उपमेयर खनालले बजार अनुगमन कुनैपनि व्यापारीलाई तर्साउने, धम्काउने भन्दापनि नियम बाहिर रहेका व्यापार, व्यवसाय सुधारका लागि चेतावनीका रुपमा बुझ्न आग्रह गरे । उनले पटक–पटकको सुझाव, निर्देशन र सल्लाह विपरित कुनैपनि व्यापारीले अटेरी गरी उपभोक्ताको साथ खेलवाड गर्ने कार्य नरोकेमा कानून सम्वत कार्वाही हुने बताए ।

‘वीरेन्द्रनगर नगरपालिका व्यापार, व्यवसाय प्रवद्र्धनको पक्षधर मात्र नभई संरक्षक पनि हो,’ उनले भने, ‘यसका वावजुद कानून जो कोहीले मान्नु नै पर्छ । मैले जानेको छैन्, मलाई थाहा भएन, गल्ती माफ दिनुहोस् भन्ने क्षम्य नहुने हुँदा समयमै सचेत बनौं ।’ उनले मूल्य चुकाएर ल्याएको वस्तुमा नाफा राखेर उपभोक्तालाई विक्री गर्दा सडेगलेको, म्याद नाघेको, उत्पादन मिति उल्लेख नभएको, कमसल वस्तुमा विशेष ध्यान दिन सुझाव दिए ।
वीनपाका बजार अनुगमन शाखा प्रमुख दिपेन सुवेदीले चाडपर्व लक्षित बजार अनुगमन यसपटक कर्मकाण्डी मात्र नभई उपलब्धीमुलक हुनेमा विश्वस्त रहन आग्रह गरे । उनले आवश्यकताको आधारमा सम्बन्धित क्षेत्रको विज्ञसहितको विभिन्न टोली बनाएर बजार अनुगमन प्रभावकारी बनाइने जनाए ।


यता राष्ट्रिय उपभोक्ता मञ्ज कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले बजारको अवस्था भने झन् खस्किँदै जाँदा पछिल्लो ६ महिना मात्रै चामलको मूल्य चारपटक बढेको छ भने प्याजमा व्यापारीले दुईपटक कालोबजारी गरिसकेको जानकारी दिए । उनले विनाकारण हरियो तरकारीमा मात्र होइन, तेल, चिनी, जिराजन्य मशालाको मूल्य समेत आकाशिएको बताए ।
‘बरु अहिले भइरहेको अनुगमनको संख्या देखाएर त्यसैलाई उपलब्धि मान्नु भन्दा मूल्यवृद्धिको कारण पत्ता लगाउन आवश्यक छ,’ राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक बयकले वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित विहीबार बसेको बजार अनुगमन सरोकारवालाको बैठकमा भने, ‘चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाउने हो भने अत्यावश्यक उपभोग्य वस्तुको व्यवस्थापनका साथै आवश्यकताका आधारमा सुपथ मूल्यमा पसल सञ्चालन गर्ने व्यवस्था मिलाउन जरुरी देखिन्छ ।’

उनले चाडपर्व लक्षित बजार अनुगमनको दायरा र सघनता बढाउनका लागि आवश्यक जनशक्तिसँगै सूचना संकलन, प्राविधिको प्रयोग गरी निश्चित मापदण्ड बनाएर अनुगमनलाई प्रभावकारी बनाउन सकिने जनाए । बजार अनुगमनका क्रममा चाट पसलहरुले अझैपनि सरसफाईमा पर्याप्त ध्यान दिन नसकेको, अहिलेपनि पानीपुरी जस्ता वस्तु खुला हातबाटै दिने गरेको पाईएकाले ग्लोब्स र मास्र्क लगाएर विक्री वितरण गर्न सुझाव दिएको वीनपा उद्योग शाखाका सहायक चक्र थापाले जानकारी दिए ।

यसैवीच सुर्खेत उद्योग वाणिज्य संघले समेत चाडपर्वमा उपभोक्तालाई सहज, सुलभ र सस्तोमा गुणस्तरीय सेवा तथा वस्तु उपलब्ध गराउन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । संघले चाडपर्वका बेला आम उपभोक्ता विभिन्न तवरले लुटिने, ठगिने र अनाहकमा दुःख पाउने गरेकाले नियमनकारी निकायलाई सहयोग गर्न समेत सुझाव दिएको छ । संघका अध्यक्ष लक्ष्मण कँडेल, महासचिव भद्र भण्डारीको नेतृत्वमा शनिबार आफ्ना व्यवसायी सदस्यहरुलाई सचेतना अभियान अन्तर्गत वीनपा ६ नम्वर वडाध्यक्षसहितका पदाधिकारीले सदस्यता नविकरण, मूल्यसूची, फोहोर व्यवस्थापन तथा बजार सरसफाई लगायतका विषयमा घरदैलो कार्यक्रम सम्पन्न गरेको बताएको छ ।


