वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण कार्य चुनौतीपूर्ण बन्दै

सुर्खेत । वैदेशिक रोजगारीबाट फिर्ता आउने आप्रवासीहरुको पुनः एकीकरण कार्य हालका वर्षमा एकदम चुनौतीपूर्ण बन्दै गईरहेको सरोकारवालाले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको नेपालको निजी क्षेत्रका लागि लैङ्गिक–उत्तरदायी आप्रवासी पुनःएकिकरण निर्देशिका सम्बन्धमा छलफल कार्यक्रममा सरोकारवालाले सामाजिक सहयोगको कमी, अत्यावश्यक स्रोत र सेवाहरुमा पहुँच कायम नहुनु, समुदायको प्रतिरोध, शिक्षाको कमी र पर्याप्त रोजगारीका अवसर नहुँदा पुनः एकीकरणका कार्य मुख्य चुनौतीहरु रहेको बताएका हुन् ।

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विनोदप्रसाद देवकोटाले कर्णालीमा वैदेशिक रोजगारीबाट फर्किनेहरुको तथ्यांक स्थानीय तहले संकलन नगरिँदा प्रदेश सरकारलाई नीति तथा योजना बनाउन समेत समस्या भईरहेको जनाए ।

उनले कर्णालीबाट ठूलो संख्यामा कामको खोजीका लागि भारत जानेलाई श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगारी भनेर उल्लेख नहुँदा फर्केकाहरुको नीतिगतरुपमा उनीहरुको सीप, अनुभव र पूँजीको समेत सदुपयोग भए/नभएको कुनै जानकारी नरहेको बताए ।

उनका अनुसार नेपालको संविधान, २०७२ को धारा ५१ (राज्यका नीतिहरु) को (झ) (६) मा वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले वैदेशिक रोजगारीबाट फर्की आएका कामदारहरुको सीप तथा बचतलाई उद्यमशीलता प्रवर्द्धन गरी देश विकास तथा गरिबी निवारणमा राज्यले सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले स्वदेश फर्किआउने कामदारहरुको लागि प्रभावकारी आर्थिक तथा सामाजिक पुनः एकीकरण प्याकेज सञ्चालन गरेर प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग गर्न नीतिगत व्यवस्था आवश्यक रहेको औल्याए ।

कार्यक्रममा सहभागि वैदेशिक रोजगारीबाट फर्की आएका कामदारहरुले सामाजिक आर्थिक विकासका लागि सामाजिक पुँजीको रूपमा सीप, प्रविधि र अनुभवलाई उपयोग हुन नसकेको बताए । उनीहरुले सम्मान र सुरक्षित स्वदेश फिर्तासँगै दिगो पुनः एकीकरणमा सहजीकरण गर्ने कार्य तीनै तहका सरकारी स्तरबाट नहुँदा आफुहरु मानसिक तथा आर्थिकरुपले विभिन्न चुनौतीको साम्ना गर्नु परिहेको जनाए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले निजी क्षेत्र भित्र वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको सीप र पूँजीको स्वदेशमै स्थायी व्यवस्थापन गर्ने उद्देश्यले सुरक्षित तथा समतामूलक पुनर्मिलन सुनिश्चित गर्न अहिले उनीहरुको राय विचार संकलन गर्ने कार्य भईरहेको जानकारी दिए ।

राय विचार संकलन कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा सरोकारवालाहरुको राय सुझाव संकलन कार्यमा विषय विज्ञ उद्धवराज पौड्याल र संयुक्ता भण्डारीले सहजीकरण गरेका थिए ।

 

 

Translate »