जाजरकोटमा नयाँ भाडदर कायम

जाजरकोट । जाजरकोटमा सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम गरिएको छ ।

सार्वजनिक सवारी साधनले चर्को भाडा लिएको गुनासो आईरहेका बेला आज जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका ७ वटै पालिकाका प्रमुख÷उपप्रमुख यातायात व्यवस्था सेवा कार्यालय चौरजहारी, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, तथा यातायात व्यवसायीका संघ संगठनहरुको संयुक्त बैठकले पक्की र कच्ची सडकको नयाँ भाडादर निर्धारण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालित सडकलाई तीन तहमा वर्गिकृत गरी चार वर्षपछि नयाँ भाडादर समायोजन गरेको छ ।

स्वचालित वैज्ञानिक भाडादरका आधारमा अधिकतम् पक्की सडकका लागि प्रतिकिलोमिटर ४ रुपैयाँ १५ पैंसादेखि ५ रुपयाँ ५० पैंसासम्म, ग्राब्रेल सडकका लागि ५ रुपैयाँ ५० पैंसादेखि ६ रुपैयाँ ५० पैंसा र कच्ची सडका लागि ६ रुपैयाँदेखि १० रुपैयाँसम्म प्रतिकिलोमिटर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख आनन्द चपाईले जानकारी दिए ।

उनले समायोजना गरिएको नयाँ भाडादर जाजरकोट जिल्ला भरीका विभिन्न रुटहरुमा गुड्ने सवारी साधनमा कार्तिक १५ गतेदेखि अनिर्वाय लागु हुने बताए ।

महंगो भाडादरका विषयमा सर्वधारणले पटक–पटक गरेको विरोधपछि जिल्ला प्रशासन कार्यालयको पहलमा नयाँ भाडादर कार्यान्वयनमा ल्याउन स्थानीय पालिकालाई समेत जिम्मेवार बनाउने गरी बैठकले निर्णय गरेको प्रमुख जिल्ला अकिारी सुरेश सुनारले जानकारी दिए ।

उनले रातो नम्वर प्लेटका गाडीले यात्रु ओसार पसार गर्ने कार्य पूर्णरुपमा बन्द गरिएकाले यात्रु बोको पाईएमा कानून वमोजिम कार्वाही हुने बताए । उनका अनुसार समायोजन गरिएको नयाँ भाडादर प्रत्यक सवारी साधनले अनिवार्यरुपमा टाँस गर्नुपर्नेछ । नयाँ भाडादर गाडीमा टाँस गरेको नपाईएमा कार्वाही हुने उनको भनाइ छ ।

यता महँगो भाडा घटाएर नयाँ भाडादर कायम भएपछि सर्वसाधारणले उक्त निर्णयको स्वागत गरेका छन् । त्यसैगरी जीप चालकहरुले गाडिको सिट क्षमता भन्दा धेरै यात्रु राख्ने गरेको गुनासो बडेकाले अबबाट त्यस्तो गरेको पाईएमा ट्राफिक प्रहरीले कार्वाही गर्ने जनाएको छ ।

तोकिएको भाडा भन्दा धेरै उठाउने र क्षमता भन्दा धेरै यात्र राख्ने चलन पहाडी रुटहरुमा पुरानै समस्या हो । अहिले पनि जाजरकोटका विभिन्न रुटमा गुड्ने सवारी साधनले आफुखुशी भाडा निर्धारण गरेर यात्रुबाट चर्को रकम असुल्दै आईरहेका छन् ।

Translate »