विश्वका उत्कृष्ट ५४ गाउँ घोषणा, २९ देशका गाउँ छानिँदा नेपालको छानिएन

काठमाडौं ।  विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले उत्कृष्ट पर्यटन गाउँहरू–२०२३ को सूची घोषणा गरेको छ । यही हप्ता उज्बेकिस्तानको समरकन्दमा भएको यूएनडब्ल्यूटीओको महासभाले विश्वका २९ देशका ५४ गाउँहरूलाई उत्कृष्टको रूपमा छानेको हो । उक्त सूचीमा पेरुका सर्वाधिक ५ गाउँ परेका छन् । यस्तै, जापान र चीनका ४–४ गाउँ पनि उत्कृष्टको रूपमा छानिएका छन् । यस्तै, चिली, स्पेन, दक्षिण कोरिया र मेक्सिकोका ३–३ गाउँ उक्त सूचीमा समावेश छन् ।

यसैगरी इजिप्ट, कोलम्बिया, स्विटजरल्याण्ड र अष्ट्रियाका २–२ गाउँ उत्कृष्टको सूचीमा परेका छन् । १७ देशका १–१ गाउँ पनि उत्कृष्टको रूपमा छानिएका छन्, जसमा छिमेकी भारतको धोर्डाे पनि परेको छ । यो दक्षिण एसियाबाट पर्ने एक्लो गाउँ हो । तर, नेपालका गाउँ भने उक्त सूचीमा परेका छैनन् । उक्त कार्यक्रमका लागि २६० ओटा आवेदन परेको थियो ।

‘पर्यटन समावेशिता, स्थानीय समुदायहरूलाई सशक्त बनाउन र सबै क्षेत्रमा लाभ वितरण गर्नको लागि एक शक्तिशालिी शक्ति हुन सक्छ,’ यूएनडब्ल्यूटीओको महासचिव जुराब पोलोलिकासभिली भन्छन्, ‘यो पहलले ती गाउँलाई मान्यता दिन्छ, जसले आफ्नो विकास तथा कल्याणका लागि पर्यटनलाई उत्प्रेरकको रूपमा उपयोग गरेका छन् ।’

यी हुन् आधार

उत्कृष्ट गाउँ छान्दा सांस्कृतिक र प्राकृतिक स्रोतहरू, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन, आर्थिक स्थायित्व, सामाजिक दिगोपन वातावरण स्थिरता र पर्यटन विकास र मूल्य श्रृंखला एकीकरणलाई आधार बनाइएको छ । यस्तै, पर्यटनको सुशासन र प्राथमिकता, पूर्वाधार र कनेक्टिभिटी र स्वास्थ्य, सुरक्षा र सुरक्षालाई पनि यसको आधार मानिएको छ ।

अपग्रेड कार्यक्रमका लागि पनि छानिएन नेपालको गाउँ 

उत्कृष्ट गाउँको मात्रै होइन, यस वर्षको अपग्रेड कार्यक्रममा सहभागी हुने गाउँको सूचीमा पनि नेपालका गाउँ परेनन् । यो सूचीमा छानिएका २० गाउँमध्ये इन्डोनेशियाका ३ गाउँ परेका छन् । यस्तै इटाली, टर्की र पेरुका २–२ गाउँ उक्त सूचीमा अटाएका छन् । ११ देशका भने १–१ गाउँ उक्त सूचीमा छन् ।

सन् २०२१ मा लन्च गरिएको यो कार्यक्रम पर्यटनमार्फत ग्रामीण क्षेत्रको विकासका लागि ल्याइएको हो । यसले ग्रामीण क्षेत्रमा विकास र समावेशीकरण, जनसंख्या कमीबाट लड्न, पर्यटनको माध्यमबाट नवप्रवर्तन र मूल्य शृंखला एकीकरणका लागि काम गर्ने गरेको छ । आर्थिक अभियान/ एजेन्सीको सहयोगमा

Translate »