पश्चिम सुर्खेतलाई केन्द्रविन्दु बनाऊँ !


विकासका पनि चरणहरु हुन्छन् । यो क्रमिकरुपमा हुने महत्वपूर्ण प्रक्रिया हो । योजना, लगानी र त्यसको कार्यान्वयनले विकासको प्रक्रियालाई अगाडि बढाउँदै समृद्धितर्फ डो¥याउँछ । आर्थिक विकासमा पछाडि परेको पश्चिम सुर्खेतलाई केन्द्रविन्दुमा राखेर संघीय सरकारले आगामी कर्णाली र सुदरपश्चिम प्रदेशको नयाँ मार्ग चित्र कोर्न सक्छ । आर्थिक समृद्धिका लागि ऊर्जा नै प्रमुख आधारका रुपमा रहेको र गरिबीको मात्रासमेत उच्च रहेका यी प्रदेशमा विद्युतीकरणका लागि प्रमुख प्राथमिकतामा राखी सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाउन आवश्यक देखिन्छ । पश्चिम सुर्खेतमा रहेका तीन स्थानीय तह विकासका आधारभूत पूर्वाधारहरुबाटै पछाडि छन् । चौकुने गाँउपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाँउपालिकामा सडक र बिजुलीको समस्या एक प्रमुख समस्याको रुपमा छ । यी क्षेत्रका धेरै ठाउँमा सडक पुग्नै सकेका छैनन्, पुगेका सडकमा पनि सवारी साधन चलाउन सकिने स्थिति छैन । बावियाचौरमा स्थानीय रुपमै जलविद्युत उत्पादन गरिएको भएपनि त्यो सम्पूर्ण पश्चिम सुर्खेतमा पर्याप्त छैन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको ठूलो भू–भाग नै विकासका मुख्य आधारहरुबाट पछाडि रहनु शोभनिय कुरा होइन । पूर्वाधारहरुको यथेष्ट प्रबन्ध गर्न नसक्नु र बनेका पूर्वाधारहरु पनि उचित रेखदेखको अभावमा सञ्चालनका लागि अयोग्य भईरहेका छन् । पश्चिम क्षेत्रमा प्रवेश गर्नको लागि बराहताल गाउँपालिकाको बड्डीचौरबाट भित्र प्रवेश गर्नासाथ कच्ची बाटो सुरु हुन्छ । वर्षातको समयमा ठूला साना सबै सवारीलाई सवारी सञ्चालनको लागि निकै कठिन हुने गरेको छ ।

सालकोटको पलैंटे थोरै मात्र बाटो कालोपत्रे गरिएको छ त्यसबाहेक सम्पूर्ण बाटो कच्ची छ । बीचमा रहेका खोलाहरुमा पुल छैनन् । यद्यपि ! पछिल्लो समय मदन भण्डारी राजमार्ग आयोजनाले सडकसँगै पुलहरु निर्माणका कामहरु अघि बढाएको छ । तर, निर्माणको गति सोचेजस्तो हुन नसक्दा यातायातका सवारी साधनसँगै पैदल यात्रुले समेत दुःख भोग्नु परिरहेको छ । अहिलेपनि खोलाहरुमा बाढी आयो भने कुनैबेला वर्षा रोकिएर बाढी घट्ला र खोला तर्ने होला भन्ने हुन्छ । दिनहुँजसो पश्चिम क्षेत्रमा बिजोग रहेको सडकले गर्दा सास्ती व्यहोर्नुपरेको छ । निर्वाचित जनप्रतिनिधिहरुले सोचेअनुरुप काम गर्न नसक्दा थप सकसलाई निरन्तरता मिलिरहेको छ । सांसदको रुपमा यहाँका बासिन्दाहरुको मत पाएर गएका व्यक्तिले यस क्षेत्रको सडक समस्या समाधानको लागि के कति पहल गरेका थिए र छन्, त्यो पश्चिम सुर्खेतको यात्रा गरेपछि जो कोहीलाई जानकारी मिलिहाल्छ । विद्युतको लाइन विस्तार नहुनु पनि पश्चिम क्षेत्रको एउटा प्रमुख समस्याको रुपमा रहेको छ । नेपाल विद्युत प्राधिकरणले पश्चिम सुर्खेतका विभिन्न गाउँहरुमा विस्तार गर्न लागेको ग्रामीण विद्युतकरणको विस्तारले गति नपाउँदा समस्या ज्यूँकात्यू उस्तै छ । व्यापार, कृषि र शिक्षाको अवस्था पनि उस्तै छ । विकासका आधारभूत पूर्वाधारहरुलाई आफ्नो चुनावी नारा बनाउने र चुनाव सकिसकेपछि त्यसतर्फ कसैको ध्यान नजाने गलत प्रवृत्तिकै कारण पश्चिम क्षेत्र पछाडी परेको हो । बाङ्गेसिमलदेखि बड्डिचौर जाने सडकबाट सडक छेउछाउ बिजुलीको खम्बा गाडिएको देखिन्छ । तर त्यो कहिल्यै पूरा हुने हो र यहाँका जनताले विद्युत सुविधा उपभोग गर्न पाउने हुन्, त्यो अनिश्चित छ ।

पश्चिम सुर्खेत भौगोलिकरुपले सुगम भएपनि पूर्वाधार विकासको अभावले पछाडि परेको चौकुने गाँउपालिका अन्य स्थानीय तहभन्दा पनि अझ पछाडि परेको छ । चौकुने सिमेन्ट कारखाना, वेतन कर्णाली जलविद्युत आयोजना, माथिल्लो कर्णाली जलविद्युत आयोजना, लखरपाटा सिमेन्ट कारखानालगायतका थुप्रै सम्भावना भएपनि सडक र बिजुलीको समस्याले अन्य पूर्वाधार र विकास निर्माणका कार्य हुन सकेका छैनन् । विकासका नाममा जे जति बेथितिहरु निम्तिए, जे जति कमजोरीहरू भए, ती नमिठा विगत थिए । विकासको एजेण्डालाई चुनावी दाउपेचको विषय बनाउनेहरूले गर्दा जे जसरी पश्चिम पछाडि प¥यो, अब पर्नुहुँदैन । अब यस क्षेत्रलाई अगाडि लैजाने भूमिका यहाँका निर्वाचित जनप्रतिनिधिको हातमा छ । तीन वटा स्थानीय तहमा निर्वाचित भएका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यले जिम्मेवारपूर्वक आफूले पाएको मतको सम्मान गर्दै विकास र समृद्धिको यात्रामा यस क्षेत्रलाई डो¥याउनु आवश्यक देखिन्छ । चुनावको बेला जुन–जुन राजनैतिक एजेण्डा बोकेर आफूले चुनाव जितिएको थियो, त्यसलाई कार्यान्यवन गर्ने, यस क्षेत्रको सम्भावनाहरुलाई बुझि पश्चिम क्षेत्रलाई समृद्ध बनाउन सबै जुट्नु पर्छ ।

Translate »