छठपछि कता जाला बजार ? के भन्छन् विश्लेषकहरू ?
काठमाडौं । तिहार र छठसहित १० दिनको बिदापछि मङ्सिर ४ गते अर्थात् आगामी सोमवारदेखि शेयर बजार खुल्नेछ । शेयर बजार खुल्ने दिन नजिकिरहँदा लगानीकर्ताहरूमा तिहारपछि बजार कतातिर जाला भन्ने आम चासो देखिन्छ । बजार अब कतातिर जाला त ? यसको जवाफका लागि पछिल्लो कारोबार दिनको समीक्षा गरौं ।
यसअघि दशैं र तिहारबीचमा १० दिन बजार खुलेको थियो । १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो भने बाँकी ६ दिनमा बजार ९२ अंकले घटेको थियो । यो अवधिमा बजार १८१७ विन्दुसम्म झरेको थियो ।
पछिल्लो १० कारोबार दिनको यो आँकडा हेर्दा आम मानिसले बजार अझै घट्न सक्ने अनुमान लगाउन सक्छन् । तर, बजारसम्बन्धी विश्लेषकहरू अब बजारले गति लिने अनुमान गरिरहेका छन् । उनीहरू यत्तिकै यो अनुमान लगाइरहेका छैनन् । बजार सुधारको संकेत देखेरै यस्तो बताइरहेका छन् । यसको एक कारण हो– बैंकहरूले ब्याजदर घटाउनु । मङ्सिरका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् । ब्याजदर घटेपछि शेयर बजार सकारात्मक प्रभाव पर्ने अनुमान लगाउन सकिन्छ ।
अब बजार सकारात्मक दिशामा जान्छ भन्ने अर्काे आधार हो– म्युचुअल फण्डहरूले आरक्षणमा पाएको शेयरमा ६ महीनाका लागि लकिङ पिरियडको व्यवस्था गरिनु । नियामक निकाय नेपाल धितोपत्र बोर्डले गरेको उक्त व्यवस्थाले बजारमा फण्डमार्फत आएको सप्लाईलाई नियन्त्रण गर्ने जानकारहरूको बुझाइ छ ।
बजार अब सकारात्मक दिशामा जान्छ भन्ने अनुमान गर्ने अरु आधारहरू पनि छन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा छ । राम्रा र बलियो वित्तीय अवस्था भएका कम्पनीहरूको शेयर मूल्य न्यून विन्दुमा झरेको छ । यो अवस्थामा बजारमा विस्तारै खरीदकर्ता आर्कषित हुने जानकारहरू बताउँछन् । बजारमा खरीदकर्ता आकर्षित हुँदा बजारले गति लिनेछ ।
त्यसो त सूचीकृत कम्पनीहरूले पनि धमाधम लाभांश घोषणा गर्न थालेका छन् । त्यसकारण अहिले लगानीकर्तालाई आकर्षित गर्ने समय रहेको बजारसम्बन्धी जानकारहरू बताउँछन् । अहिले गरेको लगानी अल्पकालीन र दीर्घकालीनरूपमा उपयुक्त भएको उनीहरूको भनाइ छ । आर्थिक अभियान