‘एउटै लक्ष्य, जनतालाई धनी बनाउने’

सुर्खेतको पूर्वी उत्तर क्षेत्रमा रहेको छ, चिङ्गाड गाउँपालिका । यो गाउँपालिका भूगोलका हिसावले दैलेख र जाजरकोटसँग जोडिएपनि दुर्गम क्षेत्र भित्र पर्दछ । संघ र प्रदेश सरकारको विकास बजेटमा समेत विभेदमा पर्छ यो पालिका । त्यसैले ती सरकारबाट न्यून बजेट विनियोजन हुन्छ । चिङ्गाड आफ्नै बजेटबाट भने डेढ वर्षको अवधिमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएको छ । डेढ वर्षमा गरेका विकास निर्माणका साथै आर्थिक तथा सामाजिक विकासको बारेमा केन्द्रीत रहेर स्काई न्यूजले चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीसँग गरेको कुराकानी

विकास निर्माणका कार्यहरु के कसरी भइरहेका छन् ?

निर्वाचनको बेला पार्टीको तर्फबाट जारी गरिएको घोषणापत्र र प्रतिबद्धताअनुसार काम भइरहेको छ । सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशु र पर्यटनलगायतका काम गरिरहेका छौं ।

निर्वाचनको बेला नागरिकसँग गरिएको वाचाहरु सबै पुरा भए ?

जनतासँग गरिएका प्रतिबद्धताको डेढ वर्षमा करिब ३० प्रतिशत काम सम्पन्न भएका छन् । भोट माग्ने क्रममा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युतको क्षेत्रमा काम गर्ने प्रतिबद्धता गरेका थियौं । सोहीअनुसारको काम अहिले भईरहेका छन । उसो त सबैको साथ र सहयोग मिलेमा आउँदो साढे तीन वर्षभित्र चमत्कारि विकास गर्न सकिन्छ ।

विकास निर्माणको काम गर्ने क्रममा के, कस्ता अवरोधहरु आए ?

सुर्खेतका नौ वटा स्थानीय तह मध्ये चिङ्गाड भौगोलिक रुपमा विकट छ । विकास निर्माणमा धेरै बजेट आवश्यक हुन्छ । भौगोलिक विकटताको कारण घरबस्तीहरु टाढाटाढा छन् । तर यो गाउँपालिकामा विकास बजेट कम आउँदा समस्य भएको छ । संघ र प्रदेशबाट ठूला मेघा प्रोटेक्ट र अन्य योजनाहरु नआउँदा थप समस्यामा परेका छौं ।

सडकको अवस्था कस्तो छ ?

विकास निर्माणमा साझा धारणा बनाएर काम गरिरहेका छौं । गाउँपालिकाको केन्द्रलाई मध्यनजर गरी, ६ वटै वडामा हिउँदभरि यातायात चल्ने योजना अघि बढाएका छौं । तर, वडा नंम्वर १ र ६ मा अहिलेसम्म बस पुग्न सकेको छैन् । चिङ्गाडको वडा नं ६, नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको जन्म थलो मात्र होइन, उहाँको निर्वाचन क्षेत्र पनि हो । दुर्भाग्य ! वहाँ पटक–पटक नेपाल सरकारको मन्त्री हुँदा समेत बस पु¥याउन सक्नु भएको छैन् । उसो त कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण्बहादुर जिसी पनि यसै पालिकाको वडा नम्वर ३, का बासिन्दा हुनुहुन्छ । अहिले सदरमुकाम वीरेन्द्रनगरबाट गाउँपालिकासम्म आउने मुख्य सडकको डीपीआर गरेर गंगटेदेखि आरोनटुडाहुँदै ढाँडखेतसम्म कालोपत्रे गर्ने योजना भएपनि प्रदेश र संघको पर्याप्त सहयोग नपुग्दा पालिकाका जनतालाई जान–आउन सकस भइरहेको छ । चिङ्गाडको समृद्धिका लागि महत्वपूर्ण नेवारे–झुप्रा–मेहली–पाखापानी–धरमपोख–कोप्ची–कचालीसम्मको सडक अहिले पनि बजेट अभावले ओझेलमा परेको छ । यो सडक कर्णाली प्रदेश राजधानी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरदेखि लेकवेशी नगरपालिका–दैलेखको गुरास गाउँपालिका–सुर्खेतको चिङ्गाड गाउँपालिका–दैलेखको भगवती गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिका हुँदै मध्यपहाडी राजमार्गसँग जोड्ने हालसम्मकै छोटो ५४ किलोमिटर दुरी मात्र छ । यो सडक निर्माण गर्दा कहीं कतै पुल-पुलेसा समेत बनाउन नपर्ने र कम लागतमा बनाउन सकिने हुँदा हुँदैपनि संघ र प्रदेश सरकारको ध्यान पु¥याउन सकेका छैनौं ।

चिङ्गाडको वडा नं ६ नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको जन्म थलो मात्र होइन, उहाँको निर्वाचन क्षेत्र समेत हो । दुर्भाग्य ! वहाँ पटक–पटक नेपाल सरकारको मन्त्री हुँदा समेत बस पु¥याउन सक्नु भएको छैन् । उसो त कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण्बहादुर जिसी समेत यसै पालिकाको वडा नम्वर ३, का बासिन्दा हुनुहुन्छ ।

हालसम्म कति वटा ऐन तथा कानुनहरु बनाउनु भयो ?

ऐन, कानुन, निर्देशिका र कार्यविधि गरी ६२ वटा बनाएका छौं । संघ र प्रदेशले कानुन बनाउन ढिलाई गर्दा स्थानीय तहको साझा अधिकारका विषयमा कानुन बाझिएकाले हामीले आफ्नो अधिकार प्रयोग गर्न पाएनौं । जसका कारण गाउँपालिकाभित्र रहेका प्राकृतिक स्रोत, साधन र आवश्यक कर्मचारी व्यवस्थापनका लागि समेत समस्या भयो । जसका कारण पालिकाले गर्ने कार्यसम्पादनमा समेत कठिन भएको छ । यद्यपि ! अझैपनि पालिका भन्दा पहिले संघ र प्रदेशले कानुन बनाउन तर्फ जोड दिनु पर्छ ।

कृषिमा गाउँपालिकाको योजना के छ ?
चिङ्गाडलाई समृद्ध बनाउने तीनवटा आधारहरु तय गरिएका छन् । जल, जमिन, वन र कृषि गाउँपालिकाका मुख्य स्रोतहरु हुन् । जल, जमिन र कृषिको माध्यमबाट यहाँका नागरिकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ । सोही आधारमा योजना बनाएका छौं । उद्देश्य पूरा गर्न पहिलो आवश्यकता सडक भएकाले बितेका डेढ वर्ष सडकलाई प्राथमिकतामा राखेर बजेट पूर्वाधारमा खर्च गरियो । चालू आर्थिक वर्षमा कृषि र पशुपालनलाई प्राथमिकतामा राखेका छौं । अनुदान टाठाबाठाहरुले लिने तर काम नगर्ने भएकाले गाउँपालिका आफैले अनुगमन गरी वास्तविक कृषक पहिचान गरेर मात्र अनुदान दिने व्यवस्था मिलाएका छौं ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले के काम गरिरहेको छ ?

पर्यटनलाई हामीले दुई तरिकाले हेरेका छौं । पहिलो, धार्मिक, पौराणिक, पुरातात्विक र दोस्रोमा आकर्षक दृश्यहरुमार्फत पर्यटकलाई आकर्षित गर्ने । जिल्लाकै सबै भन्दा अग्लो बुरुसे डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले भौतिक संरचना निर्माणका लागि गुरु योजना बनाएर बजेटको जोहो गरिरहेका छौं । पौराणिक र पुरातात्विक महत्व बोकेको भैरव र मालिका मन्दिर चिङ्गाड गाउँपालिकामै पर्छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकिएमा चिङ्गाड गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ । उसो त चिङ्गाडको कला, संस्कृति र उसको वैभव जिल्लामा अन्त कतै पाईदैन् । चिङ्गाड क्षेत्रको चर्तित ठाँटी मेलासँगै स्थानीय लहरे खेल, पञ्चे बाजा, सिंगारु, गर्रा नाचलगायतका महत्वपूर्ण गहना हुन् ।

हाम्रो एउटै मात्र लक्ष्य छ, जनतालाई जसरी पनि धनी बनाउने । कृषि, पशुपालन र पर्यटन मार्फत सम्पन्न बनाउन सकिन्छ ।

चिङ्गाडलाई बजेट विनियोजनमा संघ र प्रदेश सरकारले  विभेद गरेको हो ?

विभेद गरेकै हो । सुरुदेखि नै मैले संघ, प्रदेश र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छु । दुर्गमको हिसाबले प्रशासनिक रुपमा पनि चिङ्गाड वर्ग ‘क’ मा परेको छ । बजेट विनियोजन गर्ने मापदण्डहरु छन् । सूचांकको आधारमा हामीसँग जनसंख्या कम छ । भूगोलको आधारमा हामीले पाँच प्रतिशत मात्रै बजेट पाउँछौं भने जनसंख्याको आधारमा ८० प्रतिशत । विकटमा रहेका बस्तीमा सडक, पानी, बत्ती, शिक्षा र स्वास्थ्य सेवा पु¥याउन बढी खर्च लाग्ने भएकाले सूचांक संशोधन गरी विकट ठाउँलाई बजेटमा प्राथमिकता दिनुपर्छ भनेर सम्बन्धित निकायमा सुझाव पेस गरें तर कार्यान्वयन भएको छैन् ।

प्रशासनिक भवन निर्माणमा ढिलाइ हुनुको कारण के हो ?

म भन्दा पहिले बनेको गाउँपालिका सरकार नेपाली काँग्रेसको एक्कल बहुमतको सरकार थियो । गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने निर्णय नै उसले गर्न सकेन् । यसका वावजुद विकास निर्माणमा सकारात्मक सोंचका साथ प्रतिपक्ष हुँदाहुँदैपनि गाउँपालिकाको केन्द्र तोक्न दुई तिहाई बहुमत पु¥याउन सहयोग गरियो । त्यसबेला गाउँपालिका केन्द्रका लागि जग्गा खरिद गर्न मेरै नेतृत्वमा चन्दा उठाएर नौ रोपनी खरिद गरियो । दुई तिहाई बहुमतले पालिकाको केन्द्र सार्ने निर्णय हुँदाहुँदैपनि तत्कालिन अध्यक्ष देवबहादुर चन्दको मनसाय नहुँदा काम अघि बढेन् । यद्यपि ! तत्कालिन उपाध्यक्ष मनमाया आचार्यले अरु मान्छे लगाएर उच्च अदालत सुर्खेतमा मुद्धा हाल्ने काम भयो । पुर्नरावेदनबाट फैसला हुँदापनि पालिका केन्द्र बनाउने र सार्ने काम भएन । अन्त्यमा उपाध्यक्ष आचार्यलगायतको टीमले सर्वोच्च अदालतमा मुद्धा हाल्यो । अदालतले कुनैपनि कामकाज अगाडि नबढाउने भन्ने आदेश दिँदा अहिलेसम्म काम रोकिएको हो । दुबै जना एउटै पार्टी नेपाली काँग्रेसबाटै निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुँदाहुँदैपनि आपसी विवादका कारण गाउँपालिकाको केन्द्र तोक्ने देखि भवन निर्माणको काम अलपत्र परेको हो । अब ! सम्मानिय अदालतले छिटो भन्दा छिटो मुद्धाको किनारा लगाई दिएको भए जनतालाई सहज हुने थियो । अन्यथा, मुद्धा दायर गर्ने पक्षले मुद्धा झिकि दिएमा केन्द्र तोक्ने र प्रशासनिक भवन निर्माण कार्य अघि बढ्ने थियो ।

गाउँपालिकाले बजेट विनियोजन कुन विधिबाट गर्छ ?

आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने हो । जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र नागरिक अगुवा सबैको सोच सकारात्मक नभएसम्म राम्रो गर्छु भनेर मात्र नहुँदो रहेछ । विकास क्रमशः हुने कुरा हो । तर विकास निर्माणको कामलाई चाँडै सम्पन्न गर्न सकियो भने सार्थकता हुन्छ । मैले भन्ने गरेको छु, एउटा चामत्कारिक विकास र अर्को क्रमिक विकास । क्रमिक हुने विकास हुँदै जान्छ तर हामी चमत्कारिक विकास गर्ने भनेर आएका हौं । चामत्कारिक विकासका लागि जनप्रतिनिधि, राजनीतिक पार्टी कर्मचारी सबैमा केही गर्नुपर्छ भन्ने सोच भएन भने गाउँपालिका अध्यक्षले मात्रै चाहेर नहुने रहेछ । अनौठो समस्या झेलिरहेका छौं । वडा, जनसंख्या र भूगोलका आधारमा बजेट विनियोजन गरेका छौं ।

विकासका अरु केही काम ?

चिङ्गाड गाउँपालिकामा भौतिक पूर्वाधारको कामहरु भईरहेका छन् । सडक पालिकाको सबै ठाउँमा पु¥याउने लक्ष्य राखेको छु । चालु आर्थिक वर्ष भित्र गाउँपालिकाको केही घरधुरीमा बिजुली बत्ती बलिरहेका छौ र थप नपुगेका ठाउँमा पु¥याउने काम भईरहेको छ । खानेपानी प्रत्येक घरमा पुग्दैछ । बहृत खानेपानी आयोजनाका लागि संघ र प्रदेश सरकारहरुसँग समन्वय गरिरहेको छु । शिक्षक कम भएको विद्यालयमा गाउँपालिकाले शिक्षकको व्यवस्था गरेको छ । जबसम्म हामीले जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सक्दैनौं, तबसम्म भौतिक पूर्वाधार विकासले मात्र केही हुँदैन ।

अन्तमा, भन्नुपर्ने केही छ ?

हाम्रो एउटै मात्र लक्ष्य छ, जनतालाई जसरी पनि धनी बनाउने । कृषि, पशु, वन, पर्यटन र जमिनलाई उपयोग गरेर यहाँको जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ । सडक, बत्ती, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो लगानीको खाँचो छ । दल, कर्मचारी, नागरिक समाज सबै एकताबद्ध भएर लाग्ने हो भने आउँदो साढे तीन भित्र ‘समृद्ध चिङ्गाड, सुखी चिङ्गाडवासी’ बनाउन सकिन्छ ।

Translate »