भेरी–बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन : अध्यक्ष ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् ।

महाकाली—मेची अभियानका क्रममा आज बिहान उनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् । अवलोकनपछि उनले आयोजनाको गुणस्तरमा सम्झौता गर्नु नहुने बताए ।

उनले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने प्रतिवद्धता जनाए । ओलीले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनैपनि सम्झौता नगरी यथाशिघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।

उनले भने, ‘यो आयोजनाको टनेलको ब्रेक थ्रु पनि हामीले जति कठिनाइ छ भन्ने ठानेको तर हाम्रो वैदेशिक प्रविधि पनि भयो र वैदेशिक रेलिङ मेसिन पनि भयो । हाम्रा इन्जिनियर र हाम्रा काम गर्ने साथीहरू सबैको प्रयासबाट टनेल ब्रेक थ्रु सयमा भयो । ३ वर्षअघि नै टनेल ब्रेक थ्रु गरिएको हो । यो आयोजना कोभिड पनि ढिला गरेको हो । तर त्यो भन्दा बढी हाम्रो नेपालीहरूको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ ।’

भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

 

Translate »