‘मुख्यमन्त्री रोजगारमा अति दुरुपयोग’


कर्णाली । कर्णाली प्रदेशका सांसदहरू नै मुख्यमन्त्री रोजगार कार्यक्रम सदुपयोग नभएर दुरुपयोग भएको बताउँछन् । कर्णाली प्रदेशसभा अन्तर्गतको संसदीय मामिला समितिकी सभापति एवं सांसद कल्याणी खड्काले कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रममा व्यापक दुरुपयोग भएको बताइन् । उनले भनिन्, ‘कर्णालीमा २०७५ सालबाट मुख्यमन्त्री रोजगार कार्यक्रम सुरु गरियो । त्यसको कार्यविधि भने २०७८ सालमा बन्यो । त्यसमा पनि केही आर्थिक वर्षको खर्च भएको बजेट पनि कहाँ केमा खर्च भयो भन्ने विवरण सरकारसँग छैन ।

२०७८ मा बनेको कार्यविधिमा पनि एक श्रमिकले सय दिन काम गर्ने, जसमा ७० दिनको पैसा पाउने र ३० दिन श्रमदान गर्ने उल्लेख छ । उनले भनिन्, ‘सय दिन काम गराएर ७० दिनको मात्र ज्याला दिँदा श्रमिक भोकै काम गर्ने ? यो कार्यविधि पनि त्रुटिपूर्ण छ । यसलाई संशोधन गरेर व्यवस्थित रूपमा सञ्चालन गर्न नसकिए यो कार्यक्रमको औचित्य नै हुँदैन । यस विषयमा हामीले मुख्यमन्त्री राजकुमार शर्मासँग पनि छलफल गरेका छौं। यो लथालिंग कार्यक्रमलाई व्यवस्थित बनाउन सरकार गम्भीर हुनुपर्छ ।’
यस्तै प्रदेश सांसद एवं संसदीय मामिला समितिका सदस्य सुरेश अधिकारीले कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका नाममा व्यापक रूपमा आर्थिक अनियमितता भएको बताए । उनले भने, ‘यो कार्यक्रम त जसको सरकार उसैका कार्यकर्ता पाल्ने कार्यक्रम भयो । यसले न गरिब चिन्यो, न रोजगारी दियो । न कर्णालीको विकासमा उपलब्धि हासिल भयो ।’ मुख्यमन्त्री रोजगार कार्यक्रमबाट भएको बजेट खर्च बालुवामा पानी खन्याए झैं भएको उनले बताए । विपन्नका लागि भनिएको यो कार्यक्रममा जसको सरकार उसैका कार्यकर्ता भर्ती हुन्छन् । यसले विपन्नलाई रोजगारी दिन नसकेको उनको भनाइ छ । अन्नपूर्ण पोष्ट

