अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउने ‘चिङ्गाड’ कर्णालीकै पहिलो पालिका बन्यो

सुर्खेत । सरकारले शुरु गरेको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियानले कर्णालीमा गति लिन थालेको छ । योगदानमा आधारित कोषको विस्तार अभियानले सुर्खेतको उत्तरपूर्वी चिङ्गाड गाउँपालिका पुगेर अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न शुरु गरेको हो ।
सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल र चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले सोमबार वीरेन्द्रनगरमा चिङ्गाड क्षेत्रमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजना भित्र समेट्नका लागि सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौंतासँगै अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने चिङ्गाड गाउँपालिका कर्णालीकै पहिलो पालिका बनेको छ । कोष र पालिका वीच भएको सम्झौतापछि चिङ्गाडका कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले समेत हात–पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियति अब अन्त्य हुने अपेक्षा राखिएको छ ।
‘चिङ्गाडमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर रहने छैनन् । श्रमिक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिन स्थापित गरेका छौं,’ गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले भने, ‘योगदानमा आधारित यो योजना अन्तर्गत अनौपचारिक क्षेत्रमा पहिलो चरणमा ५० जनालाई समेट्दै ३ सयको हाराहारीमा रहेका सबै श्रमिक मजदुरलाई कार्यक्रममा समेटिनेछ ।’
उनले सामाजिक सुरक्षा कोषमा समेट्न चाहने कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकलाई समेत अभियानमुखिकरण कार्यक्रम मार्फत आवद्धतता गरिने जनाए । ‘आफु गाउपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै केही नयाँ र दीर्घकालीन प्रकृतिका जनमुखी कार्य गरौं भन्ने संस्थागत हुटहुटी थियो,’ उनले भने, ‘कोषसँगको सम्झौंताले त्यसको आधार तयार गरेको छ । स्वास्थ्य उपचारदेखि बृद्ध अवस्थासम्म सामाजिक सुरक्षा पाइने भएपछि अब पैसाको अभावमा कोहीपनि अपहेलित हुनु पर्ने छैन् ।’ उनले सरकारी कार्यालयमा करार र ज्यालादारीमा रहेका कर्मचारीलाई कोषमा आवद्ध गर्दै कार्यक्रम अघि बढ्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समिक्षा सोमैले कोषमा आवद्धतताका लागि पालिकाका सबै वडा–वडामा सूचना जारी गरिएको जनाईन् । उनले कोषसँगको सहकार्यमा अनौपचारिक क्षेत्रका श्रमिकसँगै स्वरोजगारलाई आवद्ध गराउन सचेतनामुकलक कार्यक्रम समेत सञ्चालन गरिने बताईन् । अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा सूचीकृत गर्न श्रमिक पहिचान तथा छनौट गरि योजना कार्यान्वयनका लागि गाउँपालिका जुटेको उनको भनाइ छ ।
यता कोषका निर्देशक उत्तमराज नेपालले कर्णाली प्रदेशमा हालसम्म २ सय ५६ जना रोजगारदाता र १ हजार ५ सय ४७ जना योगदानकर्ता रहेको जानकारी दिए । उनले सरकार, श्रमिक र रोजगारदाता एकताबद्ध भएर लागेकाले पनि आगामी दिनमा सामाजिक सुरक्षा योजना कार्यक्रम थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार सामाजिक सुरक्षा कोषले श्रमिकको सुरक्षाका लागि औषधी उपचार र स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजनाका साथै वृद्ध अवस्था सुरक्षा योजना गरी चार वटा योजनामार्फत सम्बन्धित योगदानकर्तालाई आवश्यकताका आधारमा रकम वितरण गर्ने गर्दछ ।
यसैवीच कर्णाली प्रदेश भित्रका सामाजिक सुरक्षा कोषमा आवद्ध भएका सेवाग्राहीलाई स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले सोमबार नै कोष र देउती अस्पताल प्रालिवीच सम्झौता भएको छ । सम्झौता पत्रमा कोषका निर्देशक उत्तमराज नेपाल र देउती अस्पतालका सञ्चालक डम्बरबहादुर थापा वीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कोषका सेवाग्राहीलाई सहज, सुलभ तरिकाले प्राथमिकताका साथ गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा आफु सक्षम रहेको अस्पताल सञ्चालक थापाले प्रतिवद्धता जनाए । निजी क्षेत्रबाट देउती अस्पताल कर्णाली प्रदेशमै कोषका सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो अस्पताल बनेको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहले कोषको प्रभावकारिता समेत प्रस्तुत हुने भएकाले सेवाग्राहीलाई अस्पतालले उच्च प्राथमिकताका साथ सेवा प्रवाह गर्न निर्देशक नेपालले सुझाव दिए ।
२०.३७ प्रतिशत रकम योगदान गर्नुपर्ने
कोषमा आबद्ध हुन चाहने श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम कोषमा योगदान गर्नुपर्नेछ । जसमध्ये ११ प्रतिशत रकम श्रमिक आफैंले व्यहोर्नुपर्नेछ भने ९ दशमलव ३७ प्रतिशत रकम सरकारले थप गर्नेछ । तर, स्वरोजगार व्यक्तिले भने न्यूनतम पारिश्रमिकको ३१ प्रतिशत रकम योगदान गर्नुपर्नेछ ।
योजना सञ्चालन कार्यविधि २०७९
कोषले जारी गरेको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ अनुसार औपचारिक प्रबन्धले नसमेटिएका सबै श्रमिक अनौपचारिक श्रमिक मानिन्छ । त्यस्तै, प्रचलित कानुनबमोजिम दर्ता भई वा नभई स्वयंले बिक्री प्रयोजनका लागि वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने व्यक्तिलाई स्वरोजगार क्षेत्रमा आबद्ध श्रमिक भनिन्छ ।
साथै, न्यूनतम आधारभूत पारिश्रमिक भनेको नेपाल सरकारले वेलावेलामा आद्योगिक क्षेत्रका श्रमिकका लागि तोकेको आधारभूत पारिश्रमिक सम्झनुपर्ने उल्लेख छ । कोषले सामाजिक सुरक्षा ऐनबमोजिम अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि कोषमा आबद्ध गर्न लागेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा २०७४ को दफा ५ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५ को नियम ४ अनुसार यस्ता श्रमिकको योगदान रकममा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले पनि योगदान गर्न सक्ने व्यवस्था छ । तर, सरकारले त्यस्तो रकम जम्मा नगरिदिने अवस्थामा योगदानकर्ता आफैले भुक्तानी गर्नुपर्छ ।
कोखदेखि शोकसम्मको सुरक्षा
सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अनौपचारिक क्षेत्रमा श्रमिक तथा स्वरोजगार व्यक्तिले कोषले सञ्चालन गरेको सबै खालका सुविधा पाउनेछन् । कोषले जारी गरेको निर्देशिका अनुसार योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा, वृद्ध अवस्था सुरक्षा योजनामा सहभागी हुन पाउनेछन् ।
निर्देशिका अनुसार अनौपचारिक क्षेत्रका श्रमिकले कोषमा भुक्तानी गरेको योगदान रकम मध्ये १० दशमलव ३७ प्रतिशत रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजनामा जम्मा गर्नेछ । बाँकी १० प्रतिशत रकम वृद्ध अवस्थामा सुरक्षा योजनामा जम्मा गर्नेछ ।
तर, स्वरोजगारमा रहेका व्यक्तिले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम यसको तीन गुणासम्म रकमको ३१ प्रतिशत योगदान गर्न सक्नेछन् । त्यस्तो रकम कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनाका लागि २८ दशमलव ३३ प्रतिशत विनियोजन गर्नेछ ।
मातृत्व सुरक्षा योजना
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाबापतको शुल्क, रोगको परीक्षण तथा उपचारबापतको खर्च, औषधिको बिलबमोजिमको खर्च, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका महिला योगदानकर्ता वा पुरुष योगदानकर्ताको पत्नी गर्भवती भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च, अस्पताल भर्ना भई प्रसूतिसम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च, सुत्केरी भएको ६ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशुको उपचार बापतको खर्च पाउनेछन् ।
शिशु स्याहारका लागि प्रति शिशु एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबरको रकम उपलब्ध गराइनेछ । यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत प्रदान गरिनेछ ।
अस्पताल भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा बाहेकका योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सनबमोजिम वार्षिक रुपमा बढीमा २५ हजार रुपैयाँसम्म प्रदान गरिनेछ । महिला योगदानकर्तालाई ९८ दिन बराबरको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने रकम प्रसूति सुविधाबापत उपलब्ध गरिनेछ ।
दुर्घटना तथा अशक्तता सुरक्षा
दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता दुर्घटनामा परी अस्पतालमा उपचार गर्दा लागेको उपचार खर्चको अधिकतम सात लाख रुपैयाँ उपचार खर्च कोषले भुक्तानी गर्नेछ । दुर्घटनाको कारण अस्थायी पूर्ण अक्षमता भएमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकम मासिक रुपमा योगदानकर्ता काममा फर्कन सक्ने अवस्था नभएसम्म प्रदान गरिनेछ ।
दुर्घटनाका कारण स्थायी असक्षमता भएमा योगदानकर्ताको असक्षमताको अनुपातमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतबराबरको रकमलाई शतप्रतिशत मानी असक्षमता प्रतिशतका आधारमा जीवनकालभर निवृत्तिभरण सुविधाबापत मासिक रुपमा कोषले रकम भुक्तानी गर्नेछ । स्थायी पूर्ण असक्षमता भएमा योगदानकर्ताले न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा जीवित रहुन्जेल कोषले भुक्तानी गर्नेछ ।
योगदानकर्ताको मृत्यु भएमा
पति वा पत्नीले न्यूनतम आधारभूत पारिश्रमिकको र स्वरोजगार श्रमिकका लागि औसत पारिश्रमिकको ४० प्रतिशतका दरले निजले जीवनभर निवृत्तिभरण प्राप्त गर्नेछन् । योगदानकर्ताको १८ वर्ष उमेर पूरा नभएको सन्ततिले शैक्षिकवृत्तिबापत न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक पाउनेछन् ।
निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ता ६० वर्ष भएपछि निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनकालभर निवृत्तिरभण भुक्तानी गर्नेछ ।
तर, योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा हकवालाले एकमुस्ट रकम प्राप्त गर्नेछन् । योगदानकर्ताले निवृत्तिभरण पाउन सुरु गरेपछि मृत्यु भएमा योगदानकर्ताको पति वा पत्नीले निवृत्तिभरण रकमको ५० प्रतिशत रकम जीवनकालभर प्राप्त गर्नेछन् । आजको स्काई न्यूज दैनिकमा प्रकासित समाचार ।