मुख्यमन्त्री शर्माद्वारा क्रिकेट मैदानको शिलान्यास
सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक सुर्खेतको वीरेन्द्रनगरमा क्रिकेट मैदान निर्माण गर्न लागिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज वीरेन्द्रनगर स्थित कालिञ्चोकमा एक कार्यक्रमका वीच क्रिकेट मैदानको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रदेशभरी नै खेलकुद पूर्वाधार निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकताका साथ तीव्रता दिईरहेको बताए । उनले खेल क्षेत्रको विकास र क्रिकेट मैदानको शिलान्यास हुनु खेलका माध्यमबाट कर्णाली अब्बल बनाउनु मुख्य उद्देश्य रहेको जनाए ।
अहिले सरकार प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रादेशिक रङ्गशाला निर्माणमा केन्द्रित रहेको बताउँदै उनले सुर्खेतपछि कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरुमा समेत खेलकुद पूर्वाधार निर्माण गरिने जनाए ।
यता आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित ७३ लाख १८ हजार लागतमा केपीडीडी कन्स्ट्रक्सन सुर्खेत र कर्णाली प्रदेश खेलकुद विकास परिषद् बीच निर्माण सम्झौता भएको छ ।
सम्झौंतामा निर्माण पक्षले मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दुबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने कामहरु रहेको प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल तथा खेल क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।