कर्णालीमा पालिका स्तरीय पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गरिँदै

सुर्खेत । कर्णालीमा पालिका स्तरीय पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गरिने भएको छ । पर्यटन मार्फत रोजगार सृजना गर्न र स्थानीय अर्थतन्त्रलाई बढावा दिन पर्यटन रणनीति तथा कार्ययोजना मार्फत पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्न लागिएको हो ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सह–लगानीमा सञ्चालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा दुई दिनसम्म सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कार्यशाला गोष्ठीमा मार्फत पालिका स्तरीय पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ गर्न लागिएको छ ।

कार्यशालामा स्थानीय तहलाई दिगो पर्यटनको विकासका लागि नीतिगत रणनीतिक योजना बनाउँदै बजारीकरण, पर्यटकीय गन्तव्यहरुको ब्रान्डिङ, तथा पर्यटन प्रवद्र्धनका लागि मिडिया परिचालन लगायतका बारेमा जानकारी गराईएको छ ।

पालिकामा पर्यटन प्रवद्र्धनका चुनौति, अवसरहरु तथा प्राथमिकताहरु पहिचान गरी सम्बन्धित स्थानीय सरकारका लागि पाँच वर्षे पर्यटन गतिविधि योजना (छोटो, मध्य र दीर्घकालीन) मस्यौदा तयार गर्न कार्यशालाले सहयोग पुग्ने नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले बताए ।

उनले पर्यटनका क्षेत्रमा अत्यन्तै राम्रो काम गरिरहेका स्थानीय सरकारको सिकाई आदानप्रदानसँगै पर्यटन मार्फत रोजगार सृजना गर्न र स्थानीय अर्थतन्त्रलाई बढावा दिन पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशाला आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाका प्रमुख तथा उपप्रमुख/गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसँगै पर्यटन हेर्ने समितिका संयोजक र पर्यटन शाखा/योजना शाखासँग सम्बन्धित कर्मचारीहरुको क्षमता बृद्धि गराई स्थानीय पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पु¥याउनु नै कार्यशालाको मुख्य उद्देश्य हो ।

कार्यक्रममा कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख रामबहादुर बुढाले स्थानीय सरकारको क्षमता अभिवृद्धिसँगै आवश्यक ज्ञान, सीप तथा विकासका लागि प्रभावकारी पर्यटन रणनीति एवं कार्ययोजना कार्यान्वयन गर्न कार्यशालाले सहयोग पुगेको बताए ।

उनले दिगो पर्यटन विकासलाई प्रोत्साहन गर्न स्थानीय आर्थिक गतिविधि बढाउँदै पर्यटकका लागि जीवन्त र आकर्षक गन्तव्यहरु विकास गर्ने बारेमा कार्यशाला मार्फत आपसी समझदारी बनेको जनाए ।

कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका शाखा अधिकृत प्रयास भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राथमिकतामा रहेको ७३ बुँदे कार्ययोजना, पर्यटन दशक २०२३–२०३२ दशक लगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाका निमित्त प्रबन्धक धर्म दवाडीले स्थानीय पर्यटन व्यवसायलाई थप चलायमान बनाई समुदायको जीवनस्तर सुधारको आधारकोरुपमा विकास गर्न यस्ता कार्यशाला प्रभावकारी रहेको बताए ।

पर्यटन रणनीति तथा कार्ययोजना तर्जुमा कार्यशालाका मुख्य प्रशिक्षक रमेशकुमार अधिकारीले पर्यटन विकासका विभिन्न विषयहरुको नीति, योजना तर्जुमा, प्रबन्धनका लागि चाहिने आवश्यक ज्ञान, सीप र सोचको विकास बारेमा सहभागिलाई जानकारी दिए ।

कार्यशालामा दुल्लु नगरपालिका दैलेख, नाम्खा गाउँपालिका हुम्ला, तिलागुफा नगरपालिका कालिकोट, पचालझरना गाउँपालिकाकालिकोट, छायाँनाथ रारा नगरपालिका मुगु, मुसिकोट नगरपालिका रुकुम पश्चि, भेरी नगारपालिका जाजरकोट, शिवालाय गाउँपालिका जाजरकोट, बराहताल गाउँपालिका, पञ्चपुरीनगरपालिका वीरेन्द्रनगर नगरपालिका सुर्खेतलगायत २० वटा स्थानीय सरकारहरुको सहभागिता रहेको थियो ।

Translate »