कृषकको रैथाने बालीप्रति आकर्षण

मुगु । कर्णालीका हिमाली जिल्लाका कृषक रैथाने बालीप्रति आकर्षित भएका छन् । रैथाने बालीको महत्व बारे सरकारी स्तरबाट जनचेतना फैलाउन थालिएपछि कृषक आकर्षित भएका हुन् । केही सयम पहिले रैथाने बालीको खेती हराउँदै गएपछि सरकारले जनचेतना फैलाउनु परेको थियो । अहिले कर्णालीका हिमाली जिल्लाहरुमा पुनः रैथाने बालीको आवश्यकता र महत्व बुझ्न थालेपछि कृषक यसको जगेर्ना गर्न जुटेका छन् ।
‘विगतका वर्षहरुमा मार्सेलगायत पुराना अन्न बालीहरूको खेती गर्न छोडेका थियौं । अहिले महत्व बढ्दै गएपछि मार्से, फापर, काउनी चिनोलगायतको खेती फेरी गर्न थालेका छौं,’ मुगुको छायानाथ रारा नगरपालिका–७, का कृषक हरिचन्द्र शाहीले भने, ‘पहिला मार्सेको महत्व नै थाहा थिएन, मार्सेको रोटीले टाउको दुख्छ, रिंगटा लाग्छ, यसैगरी काउनीको भातले पखाला गराउँछ भन्ने गरिन्थ्यो तर सबै कुरा झुट रहेछ । रैथाने बालीहरुमा पोषकतत्व बढी भएर धेरै खाँदा नपचेर त्यसो भएको रहेछ । अहिले थाहा पायौं र यसको महत्व बुझ्यौं ।’
छायानाथ रारा नगरपालिका कृषि ज्ञान केन्द्र, नारी उत्थान तथा सचेतना केन्द्रलगायत अन्य विभिन्न संघ संस्थाहरूले समाज र गाउँ बस्तीमा परम्परागत बाली संरक्षणमा सचेतना जगाएपछि जिल्लाका कृषकहरू पुनः परम्परागत बाली संरक्षणमा स्थानीय कृषकहरु जुटेको नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले बताए ।
२०७९ सालदेखि नै रैथाने बाली संरक्षणमा अभियानकै रूपबाट समुदाय स्तरमा लागेकी शिक्षिका एवं सामाजिक विकास अभियान्ता चेतना शाही मल्लले व्यावसायिक कृषि कर्ममा लागेका कृषकहरुलाई यस वर्ष पनि परम्परागत बालीको आवश्यकता र महत्वको विषयमा जनचेतना जगाउने र कृषकलाई आवश्यक पर्ने कृषि सामाग्री वीउ बिजन वितरण तथा कृषि मेलाको आयोजना गर्ने कार्यक्रम रहेको जानकारी दिईन् ।
जिल्लामा उत्पादितभन्दा बाहिरबाट आयतित अर्ग्यानिक विहीन खाद्यान्नहरू बढी प्रयोग हुन थालेपछि यसलाई निरुत्साहित गर्नको लागि स्थानीय महिलाहरुको सामूहिक प्रयासबाट स्थानीय रैथाने बाली संरक्षणमा जोड दिइएको उनले बताईन् ।
स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेको कार्बोहाइड्रेट, प्रोटिन, फाइवर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको रैथाने बालीहरु कोदो, मकै, फापर, सिमी, मास चिनो, कागुनो, मार्से लगायतका बालीमा बढी हुने भएकाले संरक्षणमा जोड दिईएको उनको भनाइ छ ।

विगतका दिनहरूमा बाहिरबाट आयतित खानेकुराको बढी प्रयोग भई मानिसहरुमा विभिन्न रोगको सिकार भइरहेको र स्थानीय स्तरमा जिल्लामा उत्पादित अर्ग्यानिक खानेकुरा उपभोग गर्न नारी उत्थान तथा सचेतना केन्द्रको सहयोगमा परम्परागत खेती बाली संरक्षणमा आफूहरू जुटेको स्थानीय महिला कृषकहरुबताउँछन् ।
स्थानीय बजारमा सिमी, फापर, कोदो, मकै, चिनो, कागुनो, र उवाको माग बढेको छ । रैथाने बालीलाई व्यावसायिकरुपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्न सक्ने सम्भावना रहेको उनले जानकारी दिईन् ।
रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनको विभिन्न प्रकारका परिकार बनाएर स्थानीय होटलहरु विक्री वितरण गर्ने गरिएको छ । अहिले हिमाली जिल्लाका विभिन्न होटल तथा नास्ता पसलहरुमा समेत रैथाने बालीका विभिन्न परिकारहरु पाइने गरेका छन् ।
रैथाने बालीको संरक्षण र प्रवद्र्धन गर्नका लागि बजार क्षेत्रमा विभिन्न कोसेली घर सञ्चालन गर्दै आएका छन् । नेपालकै ठूलो पर्यटकीय गन्तव्य रहेको रारा ताल घुम्न आउने आन्तरिक पर्यटकहरुले स्थानीय परिकार रोजाइमा पर्ने भएकाले रैथाने बालीको माग बढ्दै गएको मुगुका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए ।
रारा घुम्न आएका पर्यटकहरूले स्थानीय खानाका परिकारहरू बढी रुचाउने हुनाले पर्यटकहरूको माग पुर्याउनै मुस्किल हुने गरेको उनको भनाई छ ।