स्वदेशी वस्तुको बजारीकरणमा सरकारले सहयोग गर्छ : कर्णालीका कृषि मन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले स्थानीय उद्यमीले उत्पादन गरेका गुणस्तरीय वस्तुको बजारीकरणमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा लघु उद्यमीका लागि आयोजित खाद्य प्रशोधन प्रविधि सम्बन्धि ३ दिने तालिम समापन कार्यक्रमलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै मन्त्री शर्माले स्वदेशी उत्पादनको प्रबद्र्धन, बजारीकरणसँगै स्वदेशी वस्तु निर्यातका लागि आवश्यक वातावरण प्रदेश सरकारले मिलाई दिने जनाएका हुन् ।
उनले स्वदेशी वस्तु उत्पादन तथा बजारीकरणमा कुनैपनि प्रकारको समस्या देखिएमा प्रदेश सरकारले जतिबेलापनि उद्यमीलाई आवश्यक सहयोग एवं सहजीकरण गर्न तयार रहेको बताए । कर्णालीको बेरोजगारी समस्या समाधानका लागि स्वरोजगारी सबैभन्दा उत्तम उपाय भएको बताउँदे मन्त्री शर्माले सरकारी लगानीबाट सिखेको शिपलाई व्यवहारमा प्रयोग गर्न सहभागिलाई सुझाव दिए ।

कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले घरेलु उद्यम प्रवद्र्धनसँगै रोजगारी सिर्जना गर्नका लागि शिपमुलक तालिमहरु प्रभावकारी हुने गरेको बताए ।
खाद्य प्रशोधन तालिममा कुखुराको मासुको अचार, टमाटर र पाकेको फर्सी मिश्रित सस, भट्मासको टोफु र स्याउको जाम बनाउने तालिममा २० जना महिला र पुरुष उद्यमीहरुको सहभागिता रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।
उनले मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै कर्णालीको भन्ने लक्ष्यसहित उद्यमी बन्न सहभागिलाई सुझाव दिए । तीन दिने तालिम पश्चात सहभागि उद्यमीहरुलाई कार्यालयले कृषि मन्त्री शर्मामार्फत प्रमाणपत्र वितरण गरेको थियो ।