ब्राईटल्याण्डका विद्यार्थीद्वारा मानवसेवा आश्रमलाई मुठीदान

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–११, पिपिरा स्थित ब्राइटल्याण्ड सेकेन्डरी स्कुलका विद्यार्थीले मुठीदान गरेका छन् । उनीहरुले शुक्रबार वीरेन्द्र्रनगर– १२ स्थित मानवसेवा आश्रममा पुगेर आश्रितहरुलाई मुठीदान गरेका हुन् ।
विद्यार्थीमा दानको भावना जगाउन मुठीदान गर्नु परेको विद्यालयका प्रिन्सिपल माधव भण्डारीले बताए । उनले सहिद सप्ताहसँगै स्कूलको खेलकुद सप्ताहको अवसर पारेर स्कूलका प्ले ग्रुपदेखि कक्षा ११ सम्मका विद्यार्थीले मुठीदान गरेको जनाए । उनका अनुसार विद्यार्थीले आ–आफ्नो गच्छेअनुसार खाद्यन्न, तरकारीलगायत नगद दान गरेका हुन् ।

मुठीदान कार्यक्रमका लागि स्कूलका हरेक कक्षाका प्रतिनिधि विद्यार्थीहरु माानव सेवा आश्रममा पुगेका थिए । विद्यार्थीहरुले दिएको दानलाई मानव सेवा आश्रम सुर्खेती स्वयमसेवक रक्षा मल्लले ग्रहण गरेकी थिईन् ।
स्कूलका संस्थापक अध्यक्ष बालदिप कंडेलले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले यस वर्ष पहिलो पटक मानव सेवालाई विद्यार्थीले मुठीदान दिएको जनाए ।
उनले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई सडक मानवले भोग्नु परेको समस्या बुझ्न र सहयोगी भावना विकास गराउन विद्यालयले हरेक वर्ष यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताए ।