नीतीश कुमार फेरि बने बिहारका मुख्यमन्त्री, लालु यादवको दलसँगको गठबन्धन तोडेर डेढ वर्षपछि भाजपा गठबन्धनमा
पटना (भारत) । मुख्यमन्त्री पदबाट राजीनामा दिएको केही घन्टामै जनता दल युनाइटेडका नेता नीतीश कुमार फेरि बिहारको मुख्यमन्त्री बनेका छन् ।
आइतवार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले आइतवार दिउँसो मुख्यमन्त्री पदको शपथ लिएका हुन् । डेढ वर्षअघि लालु यादवको राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट मुख्यमन्त्री बनेका उनी फेरि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् ।
सन् २०२२ अगस्टमा भाजपा नेतृत्वको गठबन्धन छाडेर लालु यादवको राष्ट्रिय जनता दलसँगको (आरजेडी) गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए ।
सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको रायका आधारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दलसँगको गठबन्धनबाट अलग हुने निर्णय गरेको बताए । ‘यो सरकार राम्रोसँग चलिरहेको थिएन । केही समस्या थियो । हामीले हेरिरहेका थियौं । पार्टीभित्र र बाहिरबाट पनि राय आइरहेका थिए । सबै कुरा सुनेपछि राजीनामा दिएर सरकार भङ्ग गर्यौं,’ उनले भने ।
आइतवारको शपथ ग्रहण समारोहमा भाजपाका अध्यक्ष जेपी नड्डा, लोक जनशक्ति पार्टी (रामविलास)का नेता चिराग पासवानलगायत उपस्थित थिए ।
भारतमा यसै वर्ष आम निर्वाचन हुँदैछ । त्यही चुनावका लागि बिहारमा यो गठबन्धन बनाइएको अड्कलवाजी गरिएको छ । बिहारमा भाजपासँग मुख्य प्रतिस्पर्धामा रहेको भनिएको विपक्षीको गठबन्धन भत्किएपछि भाजपालाई चुनाव जित्न सहज हुने बताइएको छ । एजेन्सीको सहयोगमा