कर्णाली राजमार्गको जोखिम कायमै

कर्णाली राजमार्गको स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम उच्च छ । वर्षेनी नाम मात्रको स्तरोन्नतीले निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्दा सडक भत्किएर दुर्घटनाको जोखिम उच्च बनेको हो । कर्णालीको मुख्य राजमार्गका थुप्रै घुम्तीहरुमा खाडल मर्मत नहुँदा सडक थला पर्दै गइरहेको छ । बजेट अभावले सडकको मर्मत–सम्भार नहुँदा लेन्थवर्कर पनि राख्न नसकिएको सडक कार्यालयहरु बताउँछन् । सडक छेउ र कुनाबाट पहिरो जान थालिसक्दा समेत रेखदेख गर्ने कोही छैनन् । राजमार्गका कतिपय स्थानमा उबडखाबड कालोपत्रे उप्किन थालेको छ भने कतिपय ठाउँका बीच सडकमै ठूला–ठूला खाडल बनेका छन् । राजमार्गको स्तरोन्नतीको काम गुणस्तरहीन हुँदा अहिले सडक भत्किएर बर्बाद भएको छ । कर्णालीका जनतालाई सुविधा दिन बनाइएको सडकले झन् सास्ती दिएको छ । सडकमा घाम लागे धुलाम्मे र पानी परे हिलाम्य हुन्छ । अनगिन्ती खाल्डाखुल्टी छन् ।

सडकले सास्तीमात्र दिएको छ्रैन, यसको दुरावस्थाले कर्णालीका नेतालाई लज्जित पनि बनाएको छ । सडक सुधारका लागि वर्षौँदेखि अनुनय गरेपनि मर्मत सम्भारका लागि आउने न्यून बजेटले देखिने गरी काम हुन सकेको छैन् । सडक सुधारका लागि राज्यको ध्यान पुग्न नसक्दा उत्पादित वस्तुको लागत बढ्नुका साथै बाहिरबाट समान ल्याउँदा समेत महँगो हुने गरेको छ । वर्षातमा बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जीर्ण बन्दै गएको छ । प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँगुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न कठिनाई भईरहेको छ ।  धुलोका कारण कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरु धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् । प्रायः कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ । राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम हिजोआज पनि उस्तै छ । कालिकोटको सेराबाडादेखी नाग्मसम्म २६ किलोमिटर सडक धुलाम्मे छ । कालिकोटको नाग्मदेखी गमगढीसम्म ९३ किलोमिटर सडकको अवस्था समेत नाजुक छ । दैलेख खण्डमा वर्षातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरु साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ ।

त्रिदेशीय सडक भारत, नेपाल र तिब्बत जोड्ने रणनीतिक सडक जमुनाह दैलेख महावु , कालिकोट, जुम्ला हुँदै मुगुको नाप्चेनाङ्गलासंगै चिन जोड्ने भन्दै सरकारले बर्सेनि बजेट भाषण गरेपनि काम हुन सकेको छैन । सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तरउन्नती लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था विजोग भएको हो । कर्णालीका नेताहरुको राजमार्ग सुधारका लागि पहुँच नपुग्दा यात्रुहरुले ज्यानको जोखिम मोलिरहेका छन् । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन गरेको छैन् । सडककै दुरावस्थाका कारण कर्णाली विकास समेत पछाडि परेको हो । वर्षाको उर्लँदो भेलमा यात्रुहरुले जोखिम मोलेर मोटरसाइकल र गाडी तारिरहेको दृश्य सामाजिक सञ्जालमा बर्सेनि छाइरहन्छन् । यस्ता दृश्य देख्नेका लागि सामान्य लागे पनि यात्रुहरुको पीडा बयान गरिसक्नुको छैन । वर्षातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल गर्न जरुरी देखिन्छ । बर्सेनी कालिकोट, जुम्ला, मुगु, हुम्ला र पश्चिम दैलेखका स्थानीय चुपचाप सास्ती खेपेरै यात्रु गर्नुपर्ने बाध्यता छ ।

 

Translate »