ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुने

 

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उच्च अधिकारीहरू समेतको उपस्थितिमा औपचारिक कार्यक्रमका बीच सुरुङ छेडिने कार्यक्रम तय भएको नागढुंगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे प्रधानमन्त्री दाहाल सुरुङ ब्रेक थ्रु कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पहिलो सडक सुरुङमार्गको २०७६ साल कात्तिक ४ गते शिलान्यास गरेपछि निर्माण थालिएको थियो । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यू टनेल’ भने गत साउनमै छिचोलिसकेको छ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्थ्यो ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ । कूल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा-आन्द्रो जेभीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो ।

Translate »