राप्रपाको आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा घाइते भएका ठाकुरप्रसाद डाँगीको निधन भएको छ । राप्रपा बर्दिया मधुवन नगर कार्य समिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा सोमबार छाउनी अस्पतालमा निधन भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

डाँगी राप्रपाले गत चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी भएका थिए । प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर उनी गम्भीर भएका थिए । अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने राप्रपाले जनाएको छ । संवैधानिक राजतन्त्रका पुनस्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताका खारेजीको माग राख्दै राप्रपाले काठमाडौंमा जनप्रदर्शन गरेको थियो । सोही क्रममा सिंहदरबारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप समेत भएको थियो। प्रहरीले केही प्रदर्शनकारी पक्राउ गरेको थियो ।

Translate »