‘लो भोल्टेज’ अन्त्य गरौं !

सुर्खेतलगायत आसपासका क्षेत्रमा अनियमित विद्युतका कारण आम उपभोक्तासँगै उद्योगधन्दा समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी थप समस्यामा परेका हुन् । छिन–छिनमै विद्युत आउने–जाने समस्याका कारण उद्योग सञ्चालन गर्न समस्या भइरहेको छ । सरकारले देशमा लोडसेडिङ अन्त्य गरिएको भनेपनि सुर्खेतलगायत आसपासका क्षेत्रमा विद्युतको सास्ती अझै कम हुन सकेको छैन । छिन–छिनमा जाने पटके लोडसेडिङबाट विद्युत उपभोक्ताले पाउनु सास्ती पाइरहेका छन् । अनियमित, अघोषित विद्युत लोडसेडिङ, लो भोल्टेजले आम उपभोक्ताहरुलाई सास्ती मात्र होइन नोक्सानी समेत उठाउन बाध्य पारिएको छ । गर्मीयाम बढेसँगै विद्युत वितरण प्रणालीमा देखिएको समस्याले विद्युत उपभोगलाई हैरानी मात्र होइन, निरीह बनाएको छ । उपभोक्ताको पक्षमा बोलिदिने न त जनप्रतिनिधि छन, न त सरकारी निकाय नै छन् । नेपाल विद्युत प्राधिकरणको दादागिरीले विद्युत उपभोक्तालाई ठूलो नोक्सानी उठाउनु परिरहेको छ । लो भोल्टेजका कारण विद्युतबाट सञ्चालन गरिएका उपकरणहरु, कलकारखाना, मेसिनरी चिजहरुमा प्रत्यक्षरुप असर मात्र होइन, ठूलो क्षती पुगेको छ । नोक्सानीको यकिन तथ्यांक विद्युत प्राधिकारणले बाहिर ल्याउनु पर्छ ।

विद्युत उपभोक्ताहरुले उठाउनु परिरहेको क्षतिपूर्ति कसले दिने हो ? त्यसको छिनोफानो हुन जरुरी देखिन्छ । तत्काल विद्युत वितरण केन्द्रको सेवाबाट प्रभावित हुँदा न्यायिक प्रक्रियामा जाने बाहेक अन्य केही उपाय देखिदैन् । न्यायालयले पनि विद्युत उपभोक्तालाई नोक्सानी वापतको क्षतिपूर्ति राज्यबाट दिलाउन सकेको छैन् । सरकारले उपभोक्ता अदालत गठन गर्ने प्रयास गरेपनि मूर्तरुप दिन ढिलाई गरिरहेको छ । पटक–पटक बिजुली जाने समस्या बारे उपभोक्ताको गुनासो सुनिदिने निकाय छैनन् । आर्थिक मन्दीले मर्कामा परेका व्यापारी, उद्यमीहरु पछिल्लो समय व्यापार केही हदसम्म चलायमान गर्न पाउँदा राहत महशुस गरेको भएपनि पटके लोडसेडिङले विद्युत समस्याले प्रत्यक्ष बिद्युतबाट कारोबार गर्ने व्यवसायी मारमा परेका छन् । विद्युत उपभोक्ताको समस्याप्रति सम्बन्धित निकायले समेत चरम वेवास्ता गरेको देखिन्छ । पटक–पटक लाइन जाने समस्याले व्यवसायी मात्र होइन विद्यार्थी पनि उत्तिकै समस्यामा छन् । तर नेपाल विद्युत् प्राधिरकरणले भने पटके लोडशेडिङ नभनेर सिस्टममा आएको समस्या भनिरहेको छ । उसले प्राविधिक समस्या र मौसमको कारण विद्युत् आपूर्तिमा समस्या देखिएको बताउने गरेको छ । त्यतिमात्र होइन, उसले चलाकीपूर्ण तरिकाले विद्युत उपभोक्तालाई नियमित रुपमा गर्नुपर्ने मर्मत सम्भार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा पनि विद्युत् आपूर्ति विच्छेद गर्नुपर्ने हुँदा समस्या हुने गरेको बताउँछ ।

यो उसको सोचीसम्झी उपभोक्ताको पीडा भुलाउने शब्द बाहेक अरु केही होइन । उसले त्यतिमात्र भन्दैन, ‘अहिले लोडशेडिङ गर्नुपर्ने अवस्था नरहेको र आमउपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउँछ ।’  त्यसमा पनि प्राधिकरणले जति सक्यो छिटो समाधानको लागि हरदम प्रयत्न गरिरहेको भन्छ । यस्ता बकमफुसे कुराले विद्युत पीडित उपभोक्ता आजित छन् । छिनछिनमै विद्युत आउने–जाने समस्याका कारण उद्योग सञ्चालन गर्न नसक्दा वीरेन्द्रनगर नगरपालिका–१२, स्थित औद्योगिक क्षेत्रका उद्योगहरु धरासायी हुँदै गएका छन् । लामो समय बत्ती नहुँदा करोडौं लगानीका डेरी उद्योगहरु सञ्चालनमा समस्या भइरहेको छ । सबैभन्दा बढी साँझको समयमा बेला–बेला बत्ती जाने, भोल्टेज कम आउने समस्या भइरहेको छ । विद्युत अनियमित हुने र भोल्टेजसमेत कहिले बढी र कहिले निकै कम आउने गर्दा लाखौं मूल्य पर्ने मेसिनसमेत बिग्रिँदा उत्पादनमा कमी आउन थालेको छ । गर्मीयाम लागेपछि विद्युत खपत अत्याधिक बढेकाले भोल्टेज कम हुने कुरा अब सह्य हुँदैन् । १ सय ३२ केभिए प्रशारण लाइन नजोडिँदासम्म यो समस्या समाधान हुन्छ भन्ने कुरा विद्युत वितरण केन्द्रलाई कसरी पत्याउनु ? । त्यसकारण सुर्खेतलगायत आसपासका क्षेत्रमा विद्युत वितरण प्रणालीमा देखिएको समस्याप्रति प्रदेश र संघ सरकार तत्काल समाधान निकालेर जिम्मेवार बन्नै पर्छ । निरीह सुर्खेती विद्युत उपभोक्तामाथि भईरहेको विद्युत प्राधिकरणको अत्याचार अन्त्यका लागि चौतर्फी आवाज बुलन्द पारौं ।

Translate »