पर्यटन क्षेत्र र हवाई सेवा : नेवानि कमजोर हुँदा लाभ विदेशी कम्पनीलाई

कुनै पनि मुलुकको आर्थिक विकासका लागि पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको हुन्छ । कतिपय देशको अर्थतन्त्र नै पूरै पर्यटनमा निर्भर रहेको समेत पाइन्छ । पर्यटन विदेशी मुद्रा आर्जनको मुख्य माध्यम हो । पर्यटकलाई दिइने सेवाका कारण मुलुकभित्र रोजगारी सृजना हुनुका साथै आयको वितरणमा समेत मद्दत पुर्‍याउँछ । पर्यटन विकासले मुलुकको पूर्वाधार विकासमा समेत सहयोग गर्छ । नेपालजस्तो औद्योगिक विकासको सम्भावना न्यून भएको तथा प्राकृतिक र सांस्कृतिक विविधता भएको मुलुकका लागि त पर्यटन झनै महत्त्वपूर्ण हुन्छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान यति नै छ भन्ने स्पष्ट तथ्यांक त पाइँदैन तर ३ देखि ७ प्रतिशतसम्म योगदान रहेको तथ्य स्वदेशी तथा विदेशी विश्लेषक र अर्थतन्त्रसँग सम्बद्ध संस्थाहरूले दिने गरेका छन् । नेपालको अर्थतन्त्रको विस्तारका लागि पर्यटन निकै ठूलो सहयोगी हुने भए पनि त्यसका पर्याप्त विकास हुन सकेको छैन । यसमा विभिन्न कारण रहेका छन् ।

नेपालले पर्यटन पूर्वाधार निर्माणमा ठूलो लगानी गर्न सकेको छैन भने प्रचारप्रसारको सही रणनीति लिन सकेको छैन । यसका लागि खर्च पनि गर्न सकेको छैन । तैपनि नेपाल आएका विदेशीहरूले गरिदिएको प्रचार र सानातिना प्रवर्द्धनात्मक कार्यक्रमबाटै पनि नेपाल पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहेको छ । तर, नेपाल आउन चाहने पर्यटकलाई यहाँ ल्याउन सकिएको छैन । यसको मुख्य कारण नै नेपालको वायुसेवा कमजोर हुनु हो । नेपाल वायुसेवा निगमलाई विस्तार नगरी पर्यटनको विकास र त्यसबाट अपेक्षित लाभ लिन सकिँदैन भन्ने कुरामा कुनै विवाद छैन । अहिले नेपाल आउने पर्यटकको ठूलो अंशको लाभ विदेशी वायुसेवाले लिइरहेका छन् । नेपाल आउने पर्यटकको ठूलो अंश आकाशमार्गले ओगटेको छ ।

भारतीय पर्यटक भने सडकमार्गबाट पनि ठूलो संख्यामा नेपाल आएको देखिन्छ जसको आधिकारिक तथ्यांक पाउन सकिँदैन । भारत र चीनबाट तेस्रो मुलुकका पर्यटक सडकमार्ग प्रयोग गरेर आएको पनि पाइन्छ जसको अंश ज्यादै कम छ । त्यसैले नेपालको पर्यटकको मुख्य आधार भनेको वायुसेवा नै हो । वायुसेवा भन्नेबित्तिकै विमानस्थल, त्यसको व्यवस्थापन, वायुसेवाको उडान अनुमति दिने सिभिल एभिएशन अर्थात् नागरिक उड्डयनको नाम जोडिन्छ । विश्वमा प्रचलित अभ्यासअनुसार नागरिक उड्डयन पनि नियामक निकाय र सेवाप्रदायक निकाय फरकफरक हुन्छन् । नेपालमा पनि त्यस्तै अभ्यास गर्न यससम्बन्धी अन्तरराष्ट्रिय संस्था आइकाओलगायतले नेपाललाई दबाब दिइरहेका छन् । त्यसअनुसार कानून बने पनि कार्यान्वयनको चरणमा भने नगएको अवस्था छ ।

पर्यटनको आधार

नेपालमा पर्यटनलाई उद्योगसरह मान्ने गरिएको छैन । यसलाई व्यवसाय भन्ने गरिएको छ । तर, विश्वव्यापी रूपमा भने यो सेवामूलक उद्योग हो । सांस्कृतिक पर्यटन, साहसिक खेल पर्यटन, प्राकृतिक पर्यटन, सभासम्मेलन पर्यटन, शैक्षिक पर्यटन, स्वास्थ्य पर्यटन आदि यसका अनेक विधा छन् । नेपालमा पर्यटन भन्नाले सांस्कृतिक र प्राकृतिक पर्यटन नै प्रमुख रूपमा बुझ्ने गरिएको छ र नेपालका सबैजसो पर्यटन प्याकेजमा यी विधा नै परेका पाइन्छन् । मानिस नयाँ अनुभव गर्न, रमाइलो गर्न र नयाँ ताजगी अनुभव गर्न एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । तिनलाई सेवा दिएर यो  उद्योग चलेको छ ।

पर्यटनका विभिन्न आधारमध्ये हवाई सेवा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा जान छिटो र भरपर्दो साधन बनेको छ, वायुसेवा । आधुनिक विश्वमा उड्डयन सेवा एउटा ठूलो उद्योग बनेको छ जसको सम्बन्ध पर्यटनसँग रहेको छ । उड्डयन क्षेत्र आवातजावतको साधन हो । सडक, जलमार्गजस्ता यातायातका साधन भए पनि उड्डयन सेवा पर्यटनका लागि सबैभन्दा आधारभूत पक्ष मानिन्छ । नेपालजस्तो समुद्र नछोएको भूपरिवेष्टित मुलुकका लागि त यो अनिवार्य नै हुन्छ । नेपाल आउने भारतीय पर्यटकबाहेकका झन्डै शतप्रतिशत पर्यटक हवाई मार्गबाट नेपाल आउँछन् । त्यसैले नेपालको पर्यटन भनेको नागरिक उड्डयनमा आधारित हो भन्न सकिन्छ ।

पर्यटन र वायुसेवा

वायुसेवा अत्यन्त महत्त्वपूर्ण र विशेष गतिविधि हो जसले व्यक्तिहरूलाई अन्तरराष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक, र सांस्कृतिक सीमालाई जोड्छ । वायुसेवाभित्र विमानस्थल र उडान कम्पनीहरू पर्छन् । उड्डयन उद्योग व्यापार, परिवहन र अन्य क्षेत्रमा लगानीका लागि पनि माध्यम हो जसले नयाँ रोजगारीको सृजना, उत्पादन र आर्थिक वृद्धि गराउँछ । त्यस्तै नागरिक उड्डयनले विभिन्न देश र समुदायहरूलाई जोड्छ ।

नेपालले सन् १९९२ पछि नागरिक उड्डयनका क्षेत्रमा निजीक्षेत्रको लगानी खुला गर्‍यो । उदारीकरणको नीति शुरू भएपछि नेपालमा थुप्रै निजी कम्पनीहरू स्थापना भए । नेकोन एयर, एभरेष्ट एयर, नेपाल एयरवेजलगायत स्थापना भएसँगै नेपालमा विदेशबाट ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउन थाले । सन् १९८० देखि १९९० को अवधिमा नेपाल वायुसेवा निगमले नेपालका ३८ ओटा स्थानमा आन्तरिक हवाई उडान सञ्चालन गर्दै आएको थियो । त्यतिबेला नेपाल वायुसेवा निगमका सानाठूला गरी १९ ओटा जहाज थिए । निजी कम्पनीहरू हवाई क्षेत्रमा आइसकेपश्चात् भने नेपाल एयरलायन्सको अवस्था कमजोर बन्न पुग्यो भने निजी कम्पनीहरूको अवस्था बलियो बन्दै गयो । नेपाल वायुसेवा निगमको आन्तरिक र बाह्य उडानको अवस्था कमजोर बन्दै गएको छ । निगम भ्रष्टाचारको अखडा बन्दै गएको छ । त्रिभुवन विमानस्थलमा विमानको चाप बढे पनि निगमको हात खालीजस्तै छ । नेपाल एयरलायन्समा हाल अन्तरराष्ट्रिय उडान गर्ने वाइड बडी दुईओटा, न्यारो बडी दुईओटा र बोइङ–७५७ एउटा गरी पाँचओटा जहाज छन् । यी जहाजले पनि पर्याप्त मात्रामा उडान गर्न सकेका छैनन् । विगतमा निगमले यूरोपमा उडान गथ्र्यो र त्यहाँबाट गुणस्तरीय पर्यटक ल्याउँथ्यो तर अहिले जापानबाहेक अन्य पर्यटक बजारमा नेपाल वायुसेवा पुग्न सकेको छैन । त्यसैले जति पर्यटक आएका छन् त्यसका फाइदा विदेशी वायुसेवा कम्पनीले लिइरहेका छन् ।

नेवानि कमजोर हुँदा 


नेपालमा अहिले जहाजहरूको संख्या धेरै छैन तर उपलब्ध भएकै जहाजको पनि सही व्यवस्थापन हुन सकेको छैन । निगम अहिले पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा कमजोर नै छ । अन्तरराष्ट्रिय उडानमा बिस्तारै सुधार आउन थाले पनि त्यो पर्याप्त छैन । अहिले उसले थप विमान भाडामा लिन पहल थालेको छ जसले पक्कै पनि बढी पर्यटक ल्याउन मद्दत गर्छ । नेपालमा अब हवाई क्षेत्रलाई बलियो नबनाएसम्म नेपालमा ठूलो मात्रामा विदेशी पर्यटक भित्त्याउन सकिँदैन । त्यसैले निगमलाई थप सुधार गर्नुपर्ने आवश्यकता छ ।

अझै पनि नेपालमा नेपाल वायुसेवा निगम मातहत हवाई जहाजको संख्या थप, हवाई रूट विस्तारलगायत काम यथाशीघ्र गर्नुपर्नेछ । त्यसैले निगम जति बलियो हुन्छ जति यसको सेवा विभिन्न देशमा विस्तार हुन्छ त्यति नै पर्यटनले फड्को मार्छ । निगमले यूरोपका प्रमुख शहरहरूमा पर्याप्त सेवा दिने हो भने धनाढ्य पर्यटकको आगमन बढ्छ । नेपालको आफ्नो उडान नहुँदा एकातिर हवाई यात्रा महँगो छ भने अर्कातिर बढी समय लाग्ने गरेको छ । यसले बढी समय विमानमै बिताउनुपर्ने हुन्छ र झन्झट पनि हुन्छ । त्यसैले पर्यटक बढाउन सीधा उडान जरुरी हुन्छ ।

विमानस्थलका अप्ठ्यारा 

अहिलेसम्म नेपालमा तीनओटा क्षेत्रमा अन्तरराष्ट्रिय विमानस्थल बनिसकेका छन् । तर, पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल भूराजनीतिको शिकार बनेको छ । भारतले नयाँ हवाई रूट नदिएसम्म यी दुवै विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नियमित हुन सक्ने देखिँदैन । विमानस्थल बनाउँदा बजारको अध्ययन नगरी स्थानीयको माग र हचुवाका भरमा यी विमानस्थल बनेका देखिन्छन् । व्यावसायिक दृष्टिले यी दुवै विमानस्थल असफल मान्नुपर्ने हुन्छ । त्यसैले अन्तरराष्ट्रिय उडानका लागि निजगढ अन्तरराष्ट्रिय विमानस्थल अनिवार्य देखिएको छ । ३० लाख पर्यटकको कुरा गरिरहँदा निजगढ विमानस्थल अनिवार्य देखिएको हो । पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन हुन सकेको भए त्रिभुवन विमानस्थलमा केही सहज हुन्थ्यो । तर, त्यसो हुने छाँटकाँट कमै देखिएको छ । विमानस्थल निर्माणमा नेपालले व्यावसायिक पक्षको अध्ययन नगरेको देखिन्छ । महँगो पूर्वाधार एकातिर खेर गइरहेको छ भने अर्को त्यस्तै पूर्वाधार बनाउनुपर्ने अवस्था पनि देखिएको छ । त्यही भएर निजगढ विमानस्थल किन बनाउनुपर्‍यो भन्ने प्रश्न पनि उठेको छ । दुई विमानस्थलको अवस्था हेर्दा प्रश्न स्वाभाविक हो ।

नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन, सहज यातायात एवं व्यावसायिक गतिविधिलगायतका लागि हवाई क्षेत्रको विकास अनिवार्य छ । अहिलेका पूर्वाधारलाई बलियो बनाउँदै हामीले हाम्रा गतिविधि अघि बढाउनु जरुरी छ । राम्रो तवरले हवाई जहाज सञ्चालन गर्ने हो भने अबको ६/७ वर्षमा नै ३०/४० लाखभन्दा बढी पर्यटक नेपालमा भित्त्याउन सकिन्छ ।

मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ ओटा सञ्चालनमा छन् भने १७ ओटा बन्द रहेका छन् । ६ ओटा निर्माणाधीन छन् । काठमाडौंसहित २६ ओटा विमानस्थल कलोपत्रे गरिएका छन् । काठमाडौंपछि पोखरा विमानस्थल सुविधा सम्पन्न मानिन्छ । मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षात्को समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । आर्थिक हिसाबले आन्तरिक विमानस्थल सबैजसो घाटामा छन् । करोडौं खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरूपमा सञ्चालन नहुँदा थप घाटा भएको छ । रारा, मुगु, डोल्पा, सिमिकोट आदि विमानस्थल प्रभावकारी रूपमा सञ्चालनमा छैनन् । स्थानीयको माग र राजनीतिक नेतृत्वको दबाबमा बनेका विमानस्थलहरू अहिले बोझ बनेका छन् । अन्तरराष्ट्रिय होस् वा आन्तरिक उडानका लागि बनेका विमानस्थल तिनीहरू पूर्ण क्षमतामा सञ्चालन हुन पर्यटकको आगमन बढ्नुपर्छ ।

हवाई सम्झौता

कुनै पनि मुलुकमा हवाई उडानका लागि त्यसदेशसँग सम्झौता गर्नु आवश्यक हुन्छ । नियमित सेवा नहुने मुलुकसँगसमेत सम्झौता गर्नुपर्छ । नेपालले हालसम्म विश्वका ४२ देशसँग उडान सम्झौता गरेको छ । उडान सम्झौता भएका उक्त देशमा विनारोकतोक नेपाली वायुसेवा कम्पनीहरूले उडान भर्न पाउँछन् । तर, अहिले नेपाली जहाजले ११ देशमा मात्र उडान भर्ने गरेका छन् भने बाँकी देशमा उडान गर्न सकेका छैनन् ।

सन् १९९५ देखि २०२२ सम्म एकल र बहुउडान गर्ने गरी सम्झौता गरिएको छ । तर, सम्झौता भए पनि नेपाली वायुसेवा कम्पनीहरू कमजोर बन्दै गएका छन्, ती देशमा उडान गर्न सकेका वा पाएका छैनन् । यसमा नेपालको पहल नपुगेको देखिन्छ । विशेषगरी समयानुकूल व्यवस्थापनलाई चुस्त बनाउन नसक्दा राष्ट्रिय ध्वजावाहक जहाजले सम्झौता गरेका देशको आकाशसम्म उडान भर्न सकेका छैनन् । लामो दूरीमा उडान भर्ने क्षमताको विमान अभाव त छँदै छ, विदेशी राष्ट्रले समेत उडान अनुमति नदिँदा उडान भर्न समस्या हुँदै आएको छ ।

नेपालजस्ते हिमाली र पहाडी मुलुकमा विदेशी पर्यटकलाई भित्त्याउन नागरिक उड्डयनको भूमिका निकै बढी हुन्छ । हवाई सेवाको विकास र विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माण, मर्मत र सञ्चालनको काम गर्छ । पर्यटन–उद्योग नै देश विकासको मेरूदण्ड हो र पर्यटन–उद्योगको विकास हवाई सेवामा नै निर्भर रहेको छ । यसका लागि नेपाल वायुसेवा निगम र निजीक्षेत्रका वायुसेवा कम्पनीको विकास जरुरी छ । विश्व पर्यटनको इतिहास र वर्तमान हेर्दा हवाई सेवाविनाको पर्यटन कल्पना गर्न सकिँदैन । हवाई सेवा स्वयं पर्यटन व्यवसायको एक अंग हो । नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि त यसको झनै महत्त्व छ । बाह्य पर्यटनका लागि यो अभिन्न अंग हो । तर, नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल निकै सानो भएकाले यसको विकल्प अनिवार्य भइसकेको छ । गौतम बुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रीय स्तरका हुन् जहाँ ठूलो विमान उडान र अवतरण गर्न कठिन छ । निजगढ विमानस्थलको चर्चा निकै चले पनि र निकै विवाद भए पनि अझै यसको सुनिश्चितता हुन सकेको छैन । अहिलेकै गतिमा पर्यटक संख्या बढ्दै जाने हो भने पनि त्रिभुवन विमानस्थल अपर्याप्त हुन थालिसकेको छ ।

आइकाओले नेपालको आकाश सुरक्षित रहेको मानिसक्दा पनि यूरोपेली संघले कालोसूचीमा राखिरहेको छ । यसले गर्दा नेपाल वायुसेवा निगमले यूरोपमा उडान गर्न पाएको छैन । सिंगापुर, हङकङ, दोहा आदि देश भएर मात्रै यूरोप जानआउन सकिन्छ । ट्रान्जिटमा समय बिताउनुपर्दा पर्यटकको समय खेर जान्छ । यही कारण नेपालमा यूरोपबाट पर्यटक आउन चाहेर पनि आउन समस्या भइरहेको छ । यूरोपमा सीधा उडान हुने हो भने भाडा पनि कम पर्छ र समय पनि बचत हुन्छ । त्यसैले नेपालले धेरैभन्दा धेरै देशबाट प्रत्यक्ष उडानका लागि प्राथमिकता दिनुपर्छ । आर्थिक अभियान

लेखक पर्यटन व्यवसायी हुन् ।

Translate »