आफैंभित्र छिर्ने कला

दर्शन

बालकृष्ण गजुरेल / आत्मा मर्दैन भन्ने विषय आधुनिक विज्ञान क्वान्टम फिजिक्सले प्रमाणित गर्दैछ । यस विषयमा न्युरो साइन्स अघि बढिसक्यो। जसमा गत वर्ष नोबेल पुरस्कार मिल्यो । आगामी १० वर्षमा आत्माबारे छर्लंग नतिजा हात लाग्नेछ । रह्यो भौतिक दर्शन। भौतिक दर्शनले कुनै पनि वस्तुमा शक्ति छ भन्छ । सनातनलगायत अन्य धार्मिक दर्शनले सबै वस्तुमा आत्मा या ईश्वर छ भन्छ । आत्मा पनि ऊर्जा हो। जसमा चेतना हुन्छ । रह्यो माक्र्सवाद दर्शन । अर्थ तथा पुँजीको हिसाबले यो दर्शन अब्बल मानिन्छ । किनकि बिनापैसा र सम्पत्ति आजकाल जीवन सोचिन्न ।

कुनै पनि दर्शन समय, अवस्था, परिस्थिति, माटो र भूगोललाई अब्बल मानिन्छ। त्यो बेला जर्मनीलाई माक्र्सवाद अब्बल थियो । दर्शन भनेको विचारको तार्किक तथा बृहत् सैद्धान्तिक दस्तावेज हो । जसमा जीव तथा ब्रम्हाण्ड, सभ्यता, नैतिक अवस्था, देश, व्यवस्था, प्रणाली, संविधानदेखि विभिन्न विषयमा तर्क तथा सिद्धान्त अघि सारिन्छ । केही हरफ र पाना पढ्दैमा दर्शन बुझिन्न। हाल लगभग २० हजार दार्शनिक जन्मिसके ।

हेगेलले लेखेको दर्शनलाई माक्र्सले विस्तार गरे । यसको अर्थ माक्र्सवाद दर्शनले निषेधित विचार पोख भन्दैन । त्यसपछि पनि अर्थशास्त्रसम्बन्धी विभिन्न दार्शनिक जन्मे। कम्युनिस्टको प्रकृति सरल छ। श्रमिक तथा श्रमजीविका हितका लागि कम्युनिस्टको उत्पत्ति भयो । जसमा नीति, सिद्धान्तमा टेकेर उद्योग मोडेल, विकास मोडेल तथा व्यवस्थापन मोडेल बनाइन्छ । माक्र्सवाद प्रकृतिको सामान्य अंश नभएका तथा दर्शनको अंशले पनि नछुनेहरू माक्र्सवाद जपेर सात हात उफ्रन्छन् । अतः उनीहरू माक्र्सवादको खिलापमा छन्। अतः नास्तिक छन्। नास्तिकको अर्थ खिलाफ हुन आउँछ ।

यो पनि सत्य हो । सनातन दर्शन तथा धर्ममा केही विद्वान्ले मनोमानी गरे । अपभ्रंश भयो। मनोमानी व्याख्या गरेको कारण विवादित रह्यो । यसलाई वैज्ञानिक रूपमा रूपान्तरण गर्नुको सट्टा अहम्तामा रमाएका अतिवादीको कारण विश्वको लचक, नरम, सभ्य तथा सरल दर्शन भएर पनि केही  विवादित विषय यथावत् रहे । जसमा असमानता तथा जातीयता उदाहरणको रूपमा लिन सकिन्छ ।

विवादित परम्पराको रूपमा माघे संक्रान्ति तथा साउने संक्रान्तिलाई लिन सकिन्छ। यी दुई संक्रान्तिमा हालसम्म मासु खाने परम्परा छ । यस महिनामा सके उपसना गर्नु, नसके शाकाहारी भोजन गर्नु उत्तम मानिन्छ । साधनाको अवस्था प्राकृतिक हिसाबले अनुकूल मानिन्छ ।


यो पक्का रहेछ कि भोको पेटले दर्शन जन्माउँदैन रहेछ । भोकाएकाहरू एक छाक खान र एक झर लगाउन संघर्षरत छन् । अतः गरिब देशहरूमा दर्शन जन्मिएन । कृषि क्रान्तिसँगै जब मान्छेहरू ढुंगेयुगबाट कृषि युगमा आए । तबदेखि पेटभरि खाना खान मिल्यो । मान्छेहरू एकै ठाउँमा सामाजिक रूपमा बसोवास गर्न थाले । मानव सभ्यताको सुरुवात भयो ।

बल्ल दर्शनको सुरुवात भयो । ढुंगे युगमा कुनै दर्शन थिएन । विश्वका भौतिक दर्शन तथा अध्यात्ममा दर्शन जन्मनुमा वैदिक दर्शनको ठूलो हात छ । लगभग ६०० बीसी तथा २७००–२८००० वर्षबीचमा पश्चिममा थालसले पहिलो दर्शन जन्माए । यस अवस्थामा पूर्वमा वेदान्त दर्शनभन्दा भिन्न बौद्ध दर्शन तथा जैन दर्शनको बारेमा चर्चा, परिचर्चा सुरु भइसकेको मानिन्छ । बौद्ध दर्शन तथा जैन दर्शनको बहस सुरु भइसकेको मानिन्छ ।

एनजीओ तथा विदेशी संघसंस्थामा लागेकाले माक्र्सवादको अल्प व्याख्या गर्नु भनेको कमाइ बढाउनु मात्र हो । किनकि खान्की पुँजीवादीकै छ । लगाइधुवाइ पुँजीवादीकै छ। जागिर उसकै छ । दास उसकै छ । अतः अल्पव्याख्या गरेर समाज भाँड्दा गलत दृष्टिकोण बसिरहन्छ । उनीहरूले मात्र नेपाली संस्कृति, धार्मिक मठमन्दिर, पौवा, गुम्बा आदि तथा यसको संरक्षणमा रहेका गुठीहरू सक्नेछन् । धर्मको अर्थ सत्य तथा निष्ठाको धारण गर्नु हो। जसको लहरो ईश्वरसम्म गएर टुंगिन्छ ।

अध्यात्म आफैंभित्र छिर्ने कला हो। जसबाट आत्मजागरण गरिन्छ । अतः धर्म र आध्यात्मले असमान र अपमान विषयमा कहिल्यै व्याख्या गर्दैन । त्यस विषयलाई मसला बनाएर विषय उठान गर्नु गलत मानिन्छ । असमान र अपमान विषयमा बहस गरे भने त्यो समयका अतिवादीले अल्पव्याख्या गरे होलान् । अतिवादी जहिल्यै विषाक्त हुन्छन्। पहिला पनि विषाक्त थिए । हाल पनि विषाक्त छन् ।

दर्शनले मरेको लास बोकेर हा सतीदेवी भन् भन्दैन । तर्कको विकास गर भन्छ । आत्मनिर्णय गर्न सक्ने बन् भन्छ । आधाआधी दर्शन पढेर योभन्दा अरू केही होइन । यो नै अन्तिम सत्य हो। भन्दैन। स्वअध्यन गर । त्योभन्दा पर अर्काे सत्य तथा वास्तविकता हुन सक्छ, भन्छ । हेगेलको दर्शनमा टेकेर माक्र्सले माक्र्सवाद दर्शन जन्माउनु, जिसस क्राइष्ट भारत आएर सनातन दर्शन पढेर क्रिश्चियन दर्शनलाई बृहत् बनाउनु, गौतम बुद्धले स्वयं सनातन दर्शनबाटै ध्यान, योग आदिको कारण बौद्ध दर्शन प्रतिपादन गर्नु यी विषयका प्रमाणित तथ्य हुन् ।

सनातन धार्मिक दर्शनमा टन्नै त्रुटि छन् । धेरैले मनोमानी गरे । विकृतिहरू आए । अतिवादी सोच हाबी भयो । गलत विषय जन्मिए । यो शाश्वत सत्य हो । स्विकार्नु पर्छ । तर जसले धर्म बेच्छ ऊ निकम्मा हो । भौतिक विज्ञानको अर्थमा हेर्दा धर्मको अर्थ वस्तुको वास्तविक रूप हो । नेपाली सनातन धर्म तथा बौद्ध धर्मलाई अब वैज्ञानिक रूपमा परिमार्जन गर्न आवस्यक छ । गलत विषय तथा चलाइएका अवैज्ञानिक रुढिवादी परम्परा सुधार्दै विज्ञानमा आधार भएर प्रमाणित व्याख्या गर्न जरुरत छ । अतः सैद्धान्तिक हिसाबले तथ्य रहुन् । दर्शन प्रमाणित बनोस् । मनोमानित नबनुन् । अन्नपूर्ण पोष्ट

Translate »