२०८३ कात्तिक २ , आइतबार
Sky News Nepal
October 18, 2026

सल्यानमा सर्पदंशको उपचार सुरु



सल्यान । सल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरुवात भएको छ ।

गर्मी र वर्षाको समयमा सर्पको टोकाईको जोखिमलाई मध्यनजर गर्दै सल्यानमा सर्पदंशको उपचार सेवा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । सर्पदंश हुने बित्तिकै उपचारका लागि अन्य जिल्ला जानु पर्ने बाध्यताको अन्त्यका लागि अस्पतालमा एन्टी स्नेक भेनम सहित बिरामीहरूको उपचार सुरुवात गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य व्यवस्थापक डा. अर्जुन कुमार बुढाले जानकारी दिए ।

सर्पदंशबाट हुने जोखिमलाई न्युनिकरण गर्न सर्पदंश उपचार सेवा सुरु गरिएको उनको भनाई छ । यदि कसैलाई सर्पले टोकेको अवस्थामा धामीझाँक्री तथा झारफुकमा जान नहुने जनाउँदै उनले बिरामीलाई सिधै अस्पतालमा ल्याउनु पर्ने बताए । सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने अस्पतालमा मेडिकल अधिकृत डा. आकाश मण्डलले जनाए ।

सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झमझमाउनेजस्ता लक्षण देखिने उनले बताए ।

उनका अनुसार सर्पदंशका बिरामीलाई धामी–झाँक्रीतिर नलग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा पुर्‍याउनु पर्दछ ।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार
Translate »