

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–३, तुम गेरूनीमा जिल्लाकै पहिलो व्यवस्थित पेट्रोल पम्प सञ्चालनमा आएको छ ।

स्थानीय पर्यटन व्यवसायी नेताप्रसाद चौलागाईंको करिब ४ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको अनुसा फ्युल सप्लायर्स एन्ड डिस्टिब्युटर्स प्रालि आइतबारदेखि सञ्चालनमा आएको हो ।
विसं २०८० कात्तिक १९ गते निर्माण सुरु गरिएको पेट्रोल पम्प करिब तीन वर्षपछि सञ्चालनमा आएको हो । पम्पमा पेट्रोल र डिजेल दुवै प्रतिलिटर २२० रुपैयाँमा बिक्री भइरहेको छ । यसअघि मुगुमा व्यापारीहरूले फाटफुट रूपमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएपनि पर्याप्त इन्धन उपलब्ध नहुँदा स्थानीयवासी, यातायात व्यवसायी र पर्यटकले समस्या भोग्दै आएका थिए ।
विशेष गरी मोटरसाइकल, जिप, ट्रक तथा स्काभेटर सञ्चालनमा इन्धनको अभावले कठिनाइ हुने गरेको थियो । पेट्रोल पम्पका सञ्चालक चौलागाईंले जिल्लामा लामो समयदेखि देखिँदै आएको इन्धनको समस्या समाधान गर्न र स्थानीयवासी, यातायात व्यवसायी तथा रारा घुम्न आउने पर्यटकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले लगानी गरेको बताए ।











