

सुर्खेत । सुर्खेत सदरमुकाम स्थित वीरेन्द्रनगर नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।
चाडबाडका समयमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले व्यापारीले म्याद गुज्रिएका वा गुणस्तरहीन खाद्य सामग्री बिक्री गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको हो ।
चाडपर्वको समयमा नगरक्षेत्रमा रहेका पसलहरूले म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री तथा वस्तुको मूल्यमा एकरुपता नभएको जनगुनासो बढेपछि वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमन सुरु गरेको गरेको छ ।

नगरपालिकाले नियमित बजार अनुगमन कार्यक्रमअन्तर्गत चाडबाडलाई लक्षित गरी नगर क्षेत्रका विभिन्न चोक तथा बजारमा अनुगमन थालेको हो । मुख्यरुपमा मासु तथा माछाजन्य, दुध तथा दुग्धजन्य, मिठाई पसल, पानी, तेललगायत खाद्यजन्य वस्तुको अनुगमन शुरु गरिएको छ ।

हटिया, वीरेन्द्रचोक, ऐरीचोक, मंगलगढीचोक, तल्लो बजार क्षेत्रका माछा मासु तथा दुग्ध डेयरीमा विषयविज्ञ टोलीसहितको अनुगमन भईरहेको वीरेन्द्रनगर नगरपालिकाका उद्योग तथा उपभोक्ता हित शाखाका प्रमुख दिपेन सुवेदी जनाए ।
उनले उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने योजनाअनुसार अनुगमन गरिएको जनाए । उनका अनुसार वीरेन्द्रनगर बजार क्षेत्रसँगै अन्य वडामा पसल तथा बजारको अनुगमन शुरु गरिएको छ ।
उनका अनुसार टोलीले खाद्य तथा पेय पदार्थको म्याद, मूल्यसूची, वस्तुको गुणस्तरलगायत विषय जाँच र पसलको दर्ता तथा नवीकरणको अवस्थासमेत अनुगमन गरिएको छ ।












