

गुटु । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भट्टेसराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएपछि दैनिक उपस्थितिमा उल्लेखनीय वृद्धि भएको छ ।
समाज जागरण केन्द्र (स्याक) नेपालले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी वितरण गरेको निःशुल्क शैक्षिक सामग्रीले विद्यालयमा विद्यार्थीको दैनिक उपस्थितिमा उल्लेख्य सुधार ल्याएको हो । स्याकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम, झोला तथा स्टेसनरी सामग्री प्रदान गरेपछि कक्षाकोठामा बालबालिकाको नियमितता बढेको विद्यालयले जनाएको छ ।
स्याकले कोलडाँडा एकीकृत नमूना गाउँका ७८ घरधुरीका ४७ जना बालबालिकालाई उक्त सामग्री वितरण गरिएको थियो । सामग्री वितरण हुनुअघिको तुलनामा हाल विद्यार्थीको दैनिक हाजिरी दर ७० प्रतिशतबाट बढेर ९० प्रतिशत पुगेको विद्यालयका सहायक शिक्षक केशवकुमार जोशीले जनाए । आर्थिक अवस्था कमजोर भएका कारण कतिपय अभिभावकले समयमै कापी–कलम जुटाउन नसक्दा बालबालिका विद्यालय आउन हिचकिचाउने गरेको उनी बताउँछन् ।

‘नयाँ झोला र पर्याप्त शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरुमा पढाइप्रति छुट्टै उत्साह देखिएको छ,’ उनले भने, ‘यसले बीचैमा विद्यालय छोड्ने दर (ड्रपआउट) घटाउन र सिकाइ उपलब्धि बढाउन ठुलो मद्दत पुगेको छ ।’ उनले विद्यालयमा अध्ययनरत बालबालिकाले निःशुल्क शैक्षिक सामग्री पाएपछि अभिभावकहरु समेत हर्षित भएको जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर विश्वकर्माका अनुसार दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारका लागि शैक्षिक सामग्रीको जोहो गर्नु चुनौतीपूर्ण हुने गरेकोमा स्याकको सहयोगले ठुलो आर्थिक राहत मिलेको बताए । ‘विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा पनि यस्ता रचनात्मक सहयोगलाई निरन्तरता दिन विभिन्न सरोकारवाला निकायसँग आग्रह गर्दछ,’ उनले भने, ‘शैक्षिक सामग्री सहयोगले विद्यार्थीको दैनिक उपस्थिति बढ्नु अत्यन्तै सकारात्मक र प्रभावकारी उपलब्धि हो । यसले बालबालिकाको सिकाइमा रुचि जगाउनुका साथै विद्यालय निरन्तरतामा महत्वपूर्ण टेवा पु¥याउँछ ।’
उनले कापी, कलम, झोला र पोसाकजस्ता आधारभूत सामग्री निःशुल्क पाउँदा न्यून आय भएका परिवारलाई राहत मिल्नुका साथै बालबालिकालाई नियमित विद्यालय पठाउन सहयोग पुगेको जनाए । नयाँ र आवश्यक शैक्षिक सामग्रीले विद्यार्थीमा आत्मविश्वास र पढाइप्रति आकर्षण बढाएको उनको भनाइ छ ।


उनका अनुसार शैक्षिक सामग्री अभावकै कारण बीचैमा पढाइ छोड्ने समस्या समेत कम हुँदै गईरहेको छ । सबै विद्यार्थीसँग आवश्यक शैक्षिक सामग्री हुँदा शिक्षकलाई कक्षाकोठामा पढाउन र गृहकार्य दिन सजिलो भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद पौडेलले बताए । उनले शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ उपलब्धिमा समेत सुधार आउन थालेको जनाए ।
‘कक्षाकोठामा पाठअनुसार शिक्षकले दिनहुँ प्रयोग गर्ने शैक्षिक सामग्रीले शिक्षाको गुणस्तरमा वृद्धि ल्याएको छ,’ उनले भने, ‘हिजोआज धेरैजसो विद्यालयमा शैक्षिक सामग्रीलाई अनिवार्य रुपमा कक्षाकोठामा प्रयोग गर्न थालिएपछि रुचिपूर्वक विद्यार्थीले सिकाइ सिक्ने गरेको पाइएको छ ।’
उनका अनुसार कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धिमा सुधार भएको छ । ‘शैक्षिक सामग्री देखाउँदै अध्यापन गराउँदा विद्यार्थीलाई सिकाउन र बुझाउन पनि सजिलो हुने गरेको छ,’ उनले भने, ‘पाठअनुसार आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्रीको प्रयोग गर्दै शिक्षकले सैद्धान्तिक तथा प्रयोगात्मकरुपमा अध्यापन गराउँदा पढाइमा उत्प्रेरणा जाग्दै गएको छ ।’
आवश्यक परेमा शिक्षक र विद्यार्थी मिलेर आफैं पनि शैक्षिक सामग्री निर्माण गरी शिक्षण कार्य गर्दै आएको उनको भनाइ छ । कक्षाकोठामा शैक्षिक सामग्री प्रयोगमा ल्याइएपछि विद्यालयमा विद्यार्थीको वार्षिक सिकाइ उपलब्धिमा सुधार हँुदै गएको पाईएको स्याक नेपालका निर्देशक टिकाराम आचार्यले बताए ।
उनले मोफसलका सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि बढाउन विद्यालय प्रशासन, शिक्षक र अभिभावकले अझबढी प्रभावकारी भूमिका खेल्न आवश्यक रहेको औल्याए । एकातिर विज्ञान–प्रविधिको विकास र अर्कोतिर राजनीतिक परिवर्तनले समाजलाई प्रभाव पारिरहेको उनको भनाइ छ ।
‘एक त प्रत्येक विद्यार्थीको रुचि, क्षमता तथा उद्देश्य अर्कोको भन्दा फरक हुन्छ, यसमाथि हाम्रोजस्तो सांस्कृतिक, भौगोलिक लगायत विविधता भएको देशमा एउटै कक्षाकोठामा विभिन्न रहनसहन, रीतिरिवाज, परम्परा, संस्कार आदि मान्ने परिवारबाट विद्यार्थी आएका हुन्छन,’ उनले भने, ‘सबै विद्यार्थीलाई सहज वातावरण सिर्जना गरेर सिकाउनु चानचुने कुरा निश्चय नै होइन । त्यसैले विद्यार्थीको सिकाइमा सुधार ल्याउन (विद्यालय प्रशासन, शिक्षक र अभिभावक) त्रिपक्षीय रणनीति अपनाउन आवश्यक देखिन्छ ।’
निर्देशक आचार्यले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, प्राविधिक तथा प्रशासनिक पक्षहरु सुधार गरी उपयुक्त वातावरण निर्माणमा विद्यालय प्रशासनको अझ बढी भूमिका रहने गरेको बताए । उनका अनुसार स्याक नेपालले ती विद्यार्थीहरुलाई एक वर्षका लागि पुग्ने पोसाक तथा शैक्षिक सामग्री निःशुल्क सहयोग गरेको हो ।
अधिकांस भारतमा दैनिक ज्यालादारी गरिखाने अभिभावका बालबालिकाकालाई निःशुल्क शैक्षिक सामग्रीले केही हदसम्म सहयोग पुगेको स्याक नेपालका सदस्य चौहानसिंह रानाले बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ह्वाईट बोर्ड, विद्यालय गेटको पीच निर्माण तथा विद्यालय परिसरमा वृक्षारोपण गर्न सहयोग गरिएको जनाए ।












